बायाँ हाते स्पिनर बसन्त रेग्मीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको २१ वर्ष भइसक्यो।
उनीसँगै क्रिकेट करिअर सुरू गरेका अधिकांश खेलाडीले ब्याट र बल थन्काइसके। राष्ट्रिय टिमका अनुभवी खेलाडीहरू कप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान पारस खड्का र शरद भेषवाकर उनीभन्दा जुनियर हुन्।
सन् २००० मा उनले नेपालको यु -१७ टिमबाट एसिसी यु -१७ एसिया कप खेलेका थिए।
अर्को वर्ष उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि बोलाइएका थिए। सन् २००२ मा उनले न्युजिल्यान्डमा भएको आइसिसी यु -१९ विश्वकप खेले। सन् २००६ सम्म उनी नेपालको युवा टिमको मुख्य बलरको रूपमा रहे।
सन् २००६ मा बसन्तले सिनियर टिममा डेब्यू गरे। आइसिसी इन्टरकन्टिनेल्टल कपमा उनले नामिबियाविरूद्ध खेलेर राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
राष्ट्रिय टिममा डेब्यू गरेयता बसन्तले पछाडि फर्केर हेर्नु परेन। निरन्तर राष्ट्रिय टिमको मुख्य बलरको रूपमा रहिरहे। नेपालले डिभिजन-५ देखि एकदिवसीय मान्यता पाउँदासम्मको यात्रामा उनी टिमको प्रमुख खेलाडीको रूपमा रहे।
आइसिसीले सन् २००७ मा सुरू गरेको विश्व क्रिकेट लिगमा बसन्त सर्वाधिक विकेट लिने बलर हुन्। एसोसिएट राष्ट्रका आइसिसीले आयोजना गर्ने गरेको विश्व क्रिकेट लिग २०१९ मा सकिँदा बसन्तले सर्वाधिक ११८ विकेट लिए।
उनी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सय विकेट लिने पहिलो बलर हुन्।
उनले दर्जनौं पटक टिम कठिन परिस्थितिमा रहेको बेला विकेट लिएर नेपालको संकट टारेका छन्।
नेपालका लागि ३९ लिस्ट एका खेल खेलेका बसन्तले यो फर्म्याटमा ५० विकेट लिएका छन्। यस्तै ४० वटा टी-२० खेल खेल्दै उनले ५३ विकेट लिएका छन् भने १८ टी-२० अन्तर्राष्ट्रिय खेलमा २५ विकेट हात पारेका छन्।
एकदिवसीय खेलमा उनले चार खेलमा ४ विकेट लिएका छन्।
नेपालले सन् २०१४ मा टी-२० विश्वकप र सन् २०१८ मा पहिलो एकदिवसीय खेल खेल्दाको टिममा रहेका बसन्त पछिल्लो समय भने ओझेलमा छन्।
सन् २०१९ को जुलाईमा सिंगापुरमा भएको आइसिसी टी-२० विश्वकप एसिया क्षेत्रीय छनोट खेलेपछि बसन्त राष्ट्रिय टिममा छैनन्।
सुरूमा उनले पारिवारिक कारणले टिमबाट बिदा मागेका थिए। त्यसपछि भएका प्रतियोगितामा उनी टिममा परेनन्।
टिममा फर्कन कोशिश गरिरहेका बेला कोरोना भाइरसको महामारी सुरू भयो। तत्काल टिममा फर्कने उनको योजना तुहियो।
'पारिवारिका कारणले सुरूमा टिमबाट बिदा लिएको थिएँ। त्यसपछि टिममा फर्कन मेहनेत गरिरहेका थिएँ, कोरोनाले खेल नै भएनन्,' बसन्तले भने।
कोरोनापछि पहिलो पटक भएको राष्ट्रिय क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कपमा उनले एपिएफ क्लबबाट खेले। तर सोचेजस्तो प्रदर्शन हुन सकेन।
समूह चरणमा त्रिभुवन आर्मी क्लबविरूद्धको खेलका दौरान उनी घाइते भए। ढाडमा समस्या आएपछि उनले सेमिफाइनल र फाइनल खेल्न सकेनन्।
प्रधानमन्त्री कपमा उनले चार खेलमा पाँच विकेट लिए। चारमध्ये उनी दुई खेलमा विकेटविहीन बने।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा आइसिसी विश्वकप लिग-२ का लागि टिम घोषणा गर्यो। जसमा बसन्तले स्थान पाउन सकेनन्।
अहिले पूर्ण रूपमा फिट भइसकेका बसन्त भैरहवामा आफैं अभ्यास गरिरहेका छन्।
३४ वर्षीय बसन्तको राष्ट्रिय टिमबाट खेल्ने भोक अझै मेटिएको छैन।
उनीमाथि युवा बलरसँग प्रतिस्पर्धा गर्नु पर्ने चुनौती निरन्तर थपिरहेको छ। त्यसका लागि टिमलाई चाहिएको योगदान दिनु पर्ने उनले बुझेका छन्।
'सधैं टिमलाई कसरी जिताउने भन्नेमा केन्द्रित हुन्छु। शतप्रतिशत खेल्ने मेरो ध्यान हुन्छ,' बसन्तले भने।
क्रिकेट करिअरको उत्तरार्धमा आइपुगेको स्वीकार गर्ने बसन्तले अहिले नै संन्यासको बारेमा भने सोचेका छैनन्।
उनले भने, 'अहिले नै संन्यासको बारेमा सोचेको छैन। आफ्नो राम्रो प्रदर्शन दिएर टिममा पर्छु भन्ने लाग्छ। राम्रो खेलेर टिम र देशका लागि खुसी दिलाउन चाहन्छु।'