एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका डेभ वाटमोर विश्वकै स्तरीय र अनुभवी प्रशिक्षक हुन्।
उनीसँग टेस्ट राष्ट्रदेखि आइपिएल टिम सम्हालेको अनुभव छ। वाटमोरले राष्ट्रिय टिमको पहिलो प्रशिक्षणमै सफलता हात पार्ने क्रममा सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकपको उपाधि जिताएका थिए।
त्यसपछि उनले बंगलादेशलाई बलियो टिमको रुपमा स्थापित गराए। आइपिएल टिम कोलकता नाइट नाइटराइडर्समा दुई सिजन बिताएका अस्ट्रेलियन नागरिक वाटमोर सन् २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बनेका थिए।
जिम्बावेको राष्ट्रिय टिम हुँदै उनले भारतको प्रदेश स्तरिय टिम केरला पनि सम्हाले।
विश्व क्रिकेटका सबै खाले टिम सम्हालेको अनुभव सँगालेका वाटमोर गत वर्ष एसोसिएट टिम सिंगापुरका प्रशिक्षक थिए।
उनको प्रशिक्षणमा सिंगापुरले टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा स्थान बनाएको थियो।
पूर्व क्षेत्रीय छनोटमा सिंगापुरले नेपाललाई स्तब्ध बनाएको थियो।
यहि साता राष्ट्रिय टिम सम्हाल्न काठमाडौं आइपुगेका वाटमोरले गत वर्ष नेपाली टिमलाई राम्रोसँग नियालेका थिए।
'सिंगापुरमा भएको टी-२० विश्वकप छनोटमा मैले नेपाली टिमलाई पछ्याएको थिएँ,' बुधबार नेपाल क्रिकेट संघ (क्यान) को पहिलो औपचारिक कार्यक्रममा सहभागी हुँदै वाटमोरले भने।
नेपाली टिमको प्रशिक्षक बन्नुलाई उनले 'नयाँ चुनौती' भनेका छन्। जसमा उनका तीन वटा मुख्य चुनौती देखिएका छन्।
आइसिसी विश्वकप लिग-२ मा नेपालको प्रदर्शन उच्च पार्ने उनको पहिलो चुनौती हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको लिग-२ को नयाँ खेल तालिकाअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ।
लिगका नौ वटा सिरिज मध्ये नेपालले गत वर्ष घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो।
लिग–२ मा नेपालसहित नामिबिया, ओमान, पपुवा न्युगिनी (पिएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।
लिग–२ का उत्कृष्ट ३ टिम आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।
लिग-२ ले विश्वकप छनोट मात्र नभएर एकदिवसीय मान्यताको पनि टुंगो लगाउनेछ।
नेपाललाई सन् २०२३ को मार्चसम्म एकदिवसीय मान्यता छ।
वाटमोरले पनि आफ्नो प्रमुख लक्ष्य नेपालको एकदिवसीय मान्यता जोगाइराख्नु भएको बताएका थिए।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले पनि प्रशिक्षक वाटमोरलाई दिइएको पहिलो काम लिग–२ मा राम्रो प्रदर्शन गर्ने र एकदिवसीय मान्यतालाई टिकाउने भएको बताए।
'हामीले वाटमोरसँग कुरा गर्दा तत्काल गर्नुपर्ने काम र दीर्घकालीय योजनाबारे छलफल गरेका थियौं,' प्याकुरेलले भने,'हामीले तत्काल लिग-२ मा राम्रो प्रदर्शन गर्न र एकदिवसीय मान्यता जोगाउन केन्द्रीय हुन भनेका छौं।'
वाटमोर विश्वकप स्तरमा पुग्न कठिन हुने बताउँछन्। तर त्यसका लागि मिलेर अघि बढ्नु पर्ने उनको भनाइ।
'विश्वकपमा पुग्न सजिलो छैन। तर सबै मिलेर अघि बढ्नु पर्छ। प्रत्येक खेलमा केन्द्रीत भएर खेल्नुपर्छ,' उनको भनाइ छ।
वाटमोरको दोस्रो चुनौती नेपाली घरेलु क्रिकेटको संरचनामा सुधार ल्याउनु हुनेछ।
घरेलु क्रिकेटमा ग्रासरुट कार्यक्रम गर्नका लागि क्यानले वाटमोरको सुझाव र सहयोगको अपेक्षा गरेको छ।
'वाटमोर अनुभवी प्रशिक्षक हुनुहुन्छ। उहाँ विश्वका विभिन्न देशका संरचनाबारे जानकार हुनुहुन्छ। त्यसैले क्यानले उहाँबाट नेपाली क्रिकेटको घरेलु संरचनाको स्वरुपबारे सुझाव र सहयोगको अपेक्षा गरेका छौ,' सचिव प्याकुरेल भन्छन्।
यु१९ टिम र महिला टिमलाई वाटमोरबाट सुझाव प्राप्त हुने क्यानले अपेक्षा गरेको छ। उनमाथी नेपालको युवा टिम र महिला टिमलाई अघि बढाउने तेस्रो चुनौती हुनेछ।
पुरुष टिमको प्रशिक्षकमा नियुक्त गरे पनि क्यानले वाटमोरलाई युवा टिम र महिला टिमलाई अघि बढाउनका लागि सल्लाह दिनु पर्ने शर्त राखेको थियो।
'नेपालको यु१९ टिम र महिला टिम पनि वाटमोरकै सल्लाहमा अघि बढ्नेछ,' सचिव प्याकुरेलले भने।