गत मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेलेपछि नेपाली महिला क्रिकेटरले चैतको अन्तिममा प्रधानमन्त्री कप खेल्ने तय थियो।
प्रधानमन्त्री कप खेलेको दुई महिनापछि मलेसियामा विश्वकप र एसिया कप छनोटको खेल तालिका थियो। त्यसपछि वुमेन्स च्याम्पियन्स लिगको दोस्रो संस्करणका खेल हुन्थे।
तर यी सबै प्रतियोगिता कोरोना भाइरसका कारण स्थगित भए। जसका कारण महिला क्रिकेटर बेरोजगार मात्र बनेका छैनन् उनीहरूको आर्थिक स्रोत पनि बन्द भएको छ।
पुरूष क्रिकेटरका लागि न्यूनतम भए पनि मासिक तलबको व्यवस्था छ। तर महिला क्रिकेटरका लागि अहिलेसम्म मासिक तलब दिइएको छैन।
प्रतियोगिता खेल्दा आउने भत्तालाई मुख्य आम्दानीका स्रोत बनाएका महिला क्रिकेटर समस्यामा परेको नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री बताउँछिन्।
'कोरोना कारण हामीसँग यो वर्ष कुनै प्रतियोगिता छैन। प्रतियोगिता खेलेर आम्दानी गर्ने महिला क्रिकेटरलाई अहिले आर्थिक समस्या परेको छ,' रुबिनाले काँकडभिट्टाबाट टेलिफोनमा भनिन्,'यो सबैका लागि कठिन समय हो। हामीसँग धैर्य गर्नुको विकल्प छैन।'
मैदान फर्कने अनिश्चितता भए पनि रुबिनाले आफूलाई फिट भने राखिरहेकी छिन्। लकडाउन भएपछिको एक साता त्यतिकै बसेकी रुबिनाले त्यसपछि घरमै अभ्यास गरिन्। अहिले भने बसपार्क नजिक रहेको खाली जग्गामा उनीसहित पाँच जना महिला क्रिकेटर अभ्यास गर्छन्।
रुबिनासहित राष्ट्रिय टिमका अप्सरी बेगम, रोमा थापा, काजल श्रेष्ठ बसपार्क खाली जाग्गामा नियमित अभ्यास गर्छन्। उनीहरूसँग यु–१९ टिमकी निङ्ग्मा शेर्पा पनि मिसिन्छिन्।
त्यसअघि उनीहरू मिलन क्रिकेट क्लबका लागि काँकडभिट्टा माविले दिएको मैदानमा अभ्यास गर्थे। तर स्कुललाई क्वारेन्टिन सेन्टर बनाइएपछि उनीहरू बसपार्क सरेका हुन्।
देशभर छारिएर रहेका अरू महिला राष्ट्रिय क्रिकेटरले पनि अभ्यास गरिरहेको उनले बताइन्।
'हाम्रो फेसबुकमा एउटा ग्रुप छ। त्यहाँ हामी अभ्यास कसरी गर्ने भनेर छलफल गर्छौं,' उनले भनिन्,'मैले सबैका लागि अभ्यासको तालिका पठाइदिने गरेकी छु।'
कहिलेकाहीँ त्यहीँ समूहमा क्रिकेटरले आफ्ना समस्या पनि भन्छिन्।
'सकेसम्म बुझाउने कोशिस गर्छु। तर महिला क्रिकेटरका लागि सम्बन्धित पक्षले केही नसोचेकोमा त्यही त्यतिबेला दु:ख लाग्छ,' उनले भनिन्।
कोरोनाले महिला क्रिकेटरमाथि परेको समस्याको बारेमा नेपाल क्रिकेट संघ (क्यान) अहिलेसम्म सोधिखोजी गरेको छैन।
'क्यानबाट कहिलेकाहीँ खेलाडीको वर्गीकरण गर्ने विषयमा फोन आउँछ। त्यसबाहेक हामीलाई परेको समस्याको विषयमा कसैले वास्ता गर्दैन,' रुबिनाले भनिन्।
क्याले यो वर्षदेखि महिला क्रिकेटरलाई पनि मासिक तलब दिनका लागि खेलाडीको वर्गीकरण गर्दैछ।
वर्गीकरणको विषयमा सम्बन्धित समितिको सिफारिसलाई क्यानको बोर्ड बैठकले पास गरेपछि मात्र महिला क्रिकेटरले तलब पाउनेछन्।
क्यानले महिला क्रिकेटको विकासका लागि केन्द्रीय सदस्य जयन्ती भट्टको नेतृत्वमा महिला समिति बनाउने निर्णय गरेको थियो। तर यो विषयमा आफूलाई कुनै जानकारी नभएको क्षेत्री बताउँछिन्।
विगत आठ वर्षदेखि नेपाली क्रिकेट टिमको नेतृत्व गरिरहेकी क्षेत्री एक निडर र विद्रोही स्वभावकी कप्तानको रूपमा चिनिन्छिन्। उनी महिला क्रिकेटको विषयमा अझै बुलन्द आवाज उठाइरहन्छिन्।
'निरन्तर बोलिरहेको छु र भविष्यमा पनि महिला क्रिकेटको विषयमा बोल्न छाड्ने छैन,' उनले भनिन्।
डेढ वर्षअघि थाइल्यान्ड वुमन्स टी–२० स्म्यासमा उपविजेता बनेर फर्केपछि रुबिनाले महिला क्रिकेटका लागि सम्बन्धित पक्षले केही नगरेको भन्दै तिखो प्रतिक्रिया दिएकी थिइन्।
'महिला क्रिकेटलाई जुन प्राथमिकता राख्नु पर्ने त्यो छैन। १२ वर्षदेखि खेलिरहेका छौं। हामीलाई तलब सुविधा छैन। खेलकुद परिषद् र खेलकुद मन्त्रालयले केही गरेको छैन,' उनले भने, 'केही नपाउँदा पनि राम्रो गर्ने कोशिस गरिरहेका छौं। केही सुविधा नहुँदा पनि हाम्रो प्रदर्शन यस्तो छ भने व्यवसायिक बनाउनु भयो भने अझ राम्रो नतिजा आउन सक्छ। यसमा सम्बन्धित निकायले ध्यान दिनुहुन्छ कि आशा गर्छु,' रुबिनाले उपविजेताको ट्रफी बोकेर त्रिभुवन विमानस्थलमा पत्रकारलाई प्रतिक्रिया दिएकी थिइन्।
उनले प्रतिक्रिया दिएको डेढ वर्षसम्ममा महिला क्रिकेटले प्राथमिकता पाउन सकेको छैन। जसका कारण महिला क्रिकेट व्यवसायिक बन्नु त कता हो कता झन् आर्थिक समस्याबाट ग्रुजिरहेका छन्। झन् कोरोना भाइरसका कारण उनीहरूको भविष्य नै अन्योलग्रस्त बनेको छ।