कोरोना भाइरसका कराण प्रभावित बनेका विश्वका खेलकुद गतिविधि विस्तारै सुचारु हुन थालेका छन्। शनिबारदेखि जर्मनीको पहिलो डिभिजनको फुटबल लिग जर्मन बुन्डेसलिगा सुरु भएको छ।
स्थगित भएका स्पेनको ला लिगा, इटालीको सिरि ए, इंग्ल्यान्डको प्रिमियर लिग पनि फेरि सुचारु गर्ने तयारी भइरहेको छ।
प्रमुख व्यवसायहरु खुल्ने निश्चित नभएको नेपालमा भने खेल गतिविधि कहिले सुचारु हुन्छन् यकिन छैन।
नेपालमा खेलकुद प्रतियोगिता अनिश्चितन बनेसँगै खेलाडीदेखि नीजि क्षेत्रका लगानीकर्ता मारमा परेका छन्।
गत चैत पहिलो साता गर्ने तयारी भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० फ्रेन्चाइज लिग कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो।
विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा गर्ने बाचा गरेको इपिएल अझै अनिश्चित छ।
'अहिले संसार महामारीको स्थितिमा छ। यो अवस्थामा हामीले इपिएलको विषयमा मात्र सोच्नु न्यायसंगत हुँदैछ। अहिलेको प्राथमिकता मानिसको स्वास्थ्य र सुरक्षा हो,' इपिएलका कार्यकारी निर्देशक अमिर अख्तरले भने।
इपिएल समयमै नहुँदा लगानी भने फसिरहेको उनले बताए।
'हामीले प्रशारण अधिकार किनेको कम्पनीलाई निश्चित रकम पठाइसकेका छौं। त्यसबापतको कर ७६ लाख रुपैयाँ नेपाल सरकारलाई बुझाएका छौं। आइसिसीबाट मान्यता लिनका लागि २८ लाख रुपैयाँ खर्च भएको छ, अन्य तयारीका लागि पनि खर्च भएको थियो' अख्तरले भने,'तोकिएको समयमा लिग नहुँदा हाम्रो करोड बढी रकम फसिरहेको छ।'
इपिएलले आधिकारीक ब्रोस्टकास्ट पार्टनरमा भारतीय टेलिभिजन च्यानल डिस्पोर्ट्ससँग सम्झौता गरेको थियो। इपिएलले सम्झौता रकमको बारेमा केहि खुलाएको थिएन।
अहिलेको अवस्थामा इपिएलको लगानी फस्नुमा कसैलाई दोष दिन नमिल्ने अख्तरको भनाइ छ। बरु समयमै लिग स्थगित गरेर ठूलो दुर्घटनाबाट जोगिएको उनले बताए।
'हामीले सहि समयमा लिग स्थगित गरेर ठूलो दुर्घटना टारेका छौं। लिग बीचमै स्थगित गर्नु परेको भए विदेशी खेलाडीको व्यवस्थापन देखि अरु लगानी पनि फस्थ्यो,' उनले भने।
उनले इपिएलका संचालन गर्नका लागि सहि समय कुरिरहेको पनि बताए। 'हामी इपिएल संचालका लागि सहि कुरिरहेका छौं,' उनले भने।
इपिएलका संचालनका लागि विदेशी खेलाडीको समय, सरकारको नीति र अन्तर्राष्ट्रिय समय तालिका मिलाउनु पर्छ।
'समय मात्र मिलेर होइन अब हामीले फ्रेन्चाइज टिम र प्रायोजकलाई पनि मनाउने पर्ने स्थिति छ,' अख्तरले भने।
गत चैत १ देखि १५ गते सम्म हुने भनिएको इपिएलमा ६ शहरका ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो।
यसपटकको इपिएलमा वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरी एन्डर्सन, श्रीलंकाका उपुल थाराङ्गा, अफगानिस्तानका मोहमद साहजाद, आयरल्यान्डका केभिन ओ'ब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपाल बताइएको थियो।