लकडाउन डायरी
कोरोना भाइरसका कारण देश लकडाउन भएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल सतुङ्गलस्थित घरबाट बाहिर निस्किएका छैनन्।
घरमा बसे पनि उनलाई फुर्सद भने छैन। श्रीमतीलाई खाना बनाउन सघाउनेदेखि ८ महिनाकी छोरी खेलाउने दैनिकी बनेको छ उनको। त्यो बाहेक उनी शारिरीक व्यायम गर्छन्।
अघिपछि जस्तो ब्याट घुमाउन नपाए पनि उनले घरमै गरिएको व्यायमले शारिरीक सन्तुलन कामय राखेका छन्। झण्डै दुई महिनासम्म घरमा बसेपछि छोरीले उनलाई राम्ररी चिन्न थालेकी छिन्। बेलाबेलामा छोरीको मुखबाट 'बाबा' को आवाज निकस्दा ज्ञानेन्द्रको खुसी दोब्बर हुन्छ।
'लकडाउनको समय रमाइलो गरी बितिरहेको छ,' उनले भने,'यसपटक छोरी र परिवारलाई समय दिन पाउदा निकै खुसी लागेको छ।'
अघिपछि जस्तो ब्याट समातेर नेटमा अभ्यास गर्न नपाउदा खल्लो त लाग्छ। तर कोरोना भाइरसको संक्रमण रोक्नका लागि घरमै बस्दा सहयोग पुग्ने भएकाले त्यो खल्लोपन उनले भुलेका छन्।
यो अवधिमा उनले साथीभाइसँग पनि भेट्न पाएका छैनन्। तर उनी इन्टरनेमार्फत साथी तथा राष्ट्रिय टिमका सदस्यसँग सम्पर्कमा छन्।
अहिले सिनियर राष्ट्रिय टिमको प्रशिक्षक नभएको अवस्थामा उनले खेलाडीहरूसँग क्रिकेटका कुरा गर्ने गरेका छन्।
लामो समय लकडाउन हुँद खेलाडीको प्रदर्शनमा असर गर्नेमा भने कप्तान ज्ञानेन्द्र चिन्तित छन्।
'निरन्तर खेलिरहेका खेलाडीहरूले खेल्न नपाउदा उनीहरूको व्यक्तिगत प्रदर्शनमा असर त पक्का गर्छ,' उनले भने, 'यो अवस्था संसारभरका खेलाडीमा लागू हुन्छ। त्यसैले खेलाडी स्वयमले प्रदर्शन माथि उठाउन व्यक्तिगत रूपमा मिहिनेत गर्नुपर्छ।'
संसरभरका देश लकडाउन भएको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विभिन्न प्रतियोगिता स्थगित गरेको अवस्था छ।
नेपालले चार महिनाको अवधिमा खेल्ने चार प्रतियोगिता पनि कोरोनाका कारण प्रभावित छन्। नेपालले खेल्ने तय आइसिसी विश्वकप लिग-२ का तीन वटा सिरिज तथा आइसिसी टी- २० विश्वकप छनोटलाई आइसिसीले स्थगित गरेको छ।
यस्तै चैतमा गर्ने भनिएको घरेलु फ्रेन्चाइज टी-२० लिग एभरेस्ट प्रिमियर लिग कोरोनाकै कारण अनिश्चितकालका लागि स्थगित छ।
'कोरोनाभाइरसका कारण विभिन्न प्रतियोगिता स्थगित भएका छन्। त्यसैले अब हुने प्रतियोगिताहरुको समय तालिका 'टाइट' हुन्छन्,' उनले भने, 'समय अभावले कतिपय प्रतियोगिता हुँदैनन् होला। ती प्रतियोगिता मिस हुन्छन्।'
लकडाउन खुलिहाले पनि ज्ञानेन्द्र एक साता घरमै बस्ने योजनामा छन्। 'लकडाउन खुलेपछि सबै मानिस एकै पटक बाहिर निस्किदा खतारा हुन्छ जस्तो लाग्छ। पहिला पो विदेशबाट आएका मानिससँग मात्र जोगिए पुथ्ग्यो। अब त्यो अवस्था रहेन। त्यसैले लकडाउन खुलेको एक सातासम्म घरमै बस्छु,' उनले भने।