आगामी माघ तेस्रो सातादेखि हुने तय विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरू हुन ढिलाइ हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले दुई सातापछि बन्द प्रशिक्षण गर्ने तयारी गरेको छ। क्यानका सचिव अशोकनाथ प्याकुरेलका अनुसार आगामी साताको अन्त्यदेखि बन्द प्रशिक्षण हुने सम्भावना छ।
मनमोहन मेमोरियल (एमएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा राष्ट्रिय खेलाडीहरू सहभागी भएको तथा राष्ट्रिय टिमका प्रशिक्षक उमेश पटवाल भारतबाट फर्कन ढिला हुने भएकाले बन्द प्रशिक्षणलाई असर गरेको छ। एमएम कप अझै दुई साता चल्नेछ।
बिदामा भारत गएका प्रशिक्षक पटवालले व्यक्तिगत कामले नेपाल आउन ढिलाइ हुने जानकारी दिएको क्यानले जनाएको छ।
'एमएम कपका लागि राष्ट्रिय खेलाडीहरु व्यस्त हुने र प्रशिक्षण पटवालले व्यक्तिगत कामले ढिला आउने बताएका कारण बन्द प्रशिक्षण तत्काल सुरू गर्न नसकिएको हो,' प्याकुरेलले भने।
राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ले पनि मनमोहन कपमा खेलाडी व्यस्त हुने भएकाले प्रशिक्षण ढिला हुने जानकारी पाएको बताए। नेपालका लागि महत्वपूर्ण मानिएको प्रतियोगिताको तयारी खेलाडीहरू आफैले गरिरहेको उनले बताए।
'सबैले क्रिकेट खेलिरहेका छन्, आफै पनि तयारी गरिरहेका छन्, ' ज्ञानेन्द्रले भने।
क्यानले लिग-२ का लागि पोखरामा बन्द प्रशिक्षण राख्ने तयारी गरिरहेको छ। काठमाडौंको कीर्तिपुर मैदान स्तरोन्नती भइरहेकाले क्यानले बन्द प्रशिक्षण पोखरामा गर्ने तयारी गरेको हो।
पोखरामा तयारी गर्दा नेपालले एमएम कपका लागि खेल्न आउने मलेसिया सेलेक्सन ११ विरुद्ध अभ्यास खेल खेल्ने बताइएको छ।
'अहिले कुनै विदेश भ्रमणको कुरा भएको छैन। एमएम कप खेल्न आउने मलेसियन टिमविरुद्ध अभ्यास खेल हुने कुरा भइरहेको छ,' ज्ञानेन्द्रले भने।
लिग-२ अन्तर्गत माघ तेस्रो साता (फेब्रुअरी ४ पछि) नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ।
लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।
नेपाल बाहेक अरु सबैले सिरिजको सुरुवाती खेल खेलिसकेका छन्। नेपालले पहिलो सिरिज घरेलु मैदानमा खेल्न लागेको हो।
कीर्तिपुरमा हुने सिरिजमा ६ वटा एकदिवसीय खेल हुनेछन्। जसमा प्रत्येक टिमले २-२ वटा एकदिवसीय खेल खेल्नेछन्।
सन् २०२३ को विश्वकपको छनोट रुपमा रहेको लिग-२ मा नेपालले तीन वर्षमा २६ एकदिवसीय खेल खेल्दैछ।