विगत एक वर्षदेखि नेपाली राष्ट्रिय यु-१९ टिममा परे पनि लोकेश बम पहिलो रोजाइमा खेल्न संर्घष गरिरहेका थिए।
पोखरा प्रिमियर लिग (पिपिएल) अघि पनि खेल्न पाउछु कि पाइदिन भन्नेमै बमको चिन्ता थियो। त्यसमाथि १७ बर्षीय बम विराटनगर टाइटन्सबाट पहिलो पटक फ्रेन्चाइज क्रिकेट लिग खेल्दै थिए।
एक्स्पर्ट धनगढी ब्लुजविरुद्धको पहिलो खेलमा विराटनगरले अनुभवी खेलाडीलाई मौका थियो।
पोखरा पल्टनविरुद्धको दोस्रो खेलमा बमले मौका पाए पनि केवल २ रन जोड्न सके।
चितवन राइनोजविरुद्धको तेस्रो खेलमा भने बमले सनसनी मच्चाए। स्टार खेलाडीले भरिएको चितवनविरुद्ध ६२ रन प्रहार गरे।
अहिले उनले त्यहि अर्धशकतबाट प्रसंशा बटुलेका छन्। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का लगायतले बम नेपाली क्रिकेटको आसा भनेका छन्।
'यस्ता प्रतियोगितामा आफूलाई प्रमाणित गर्नु थियो,' बमले भने,'पिपिएलमा राम्रो ब्याटिङ गर्न सकेकोमा एकदमै खुसी छु।'
नेपाली क्रिकेटको आसा लाग्दा ब्याट्सम्यानको रुपमा उदाएका बमको क्रिकेट यात्रा २०१४ को टी-२० विश्वकप पछि सुरु भयो।
'२०१४ को विश्वकपदेखि नेपालको पनि क्रिकेट टिम हुने रहेछ भन्ने थाहा पाएँ,' उनले भने, 'विश्वकपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र सुवास खकुरेलको खेल साह्रै मन परेको थियो।'
डोटीमा जन्मिएर कैलालीको धनगढीमा हुर्किएका बमले बाल्यकालमा टेनिस बलले क्रिकेट खेलेका थिए।
उनले क्रिकेट खेलेर देशको प्रतिनिधित्व गर्ने र अनि खेलका लागि विदेश पुग्न सकिन्छ भन्ने कहिल्यै सोचेका थिएनन्। यी भ्रम उनले २०१४ को विश्वकपपछि तोडे र क्रिकेटमा भविष्य बनाउने सपना बुने।
सबैभन्दा पहिला आफ्ना बुबासँग क्रिकेट सिक्ने कुरा बताए।
'तर बुबाले पढाइमा ध्यान दे भन्नु भयो,' उनले भने।
बुबाले क्रिकेट खेल्न रोकेपछि आमासँग गएर अड्डी कसे,'म जसरी पनि क्रिकेट खेल्छु।'
त्यसपछि उनी धनगढी क्रिकेट एकेडेमीमा भर्ना भए। धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दा सुरुमा बलिङ गरे। स्थानीय प्रशिक्षकले उनलाई बलिङ भन्दा ब्याटिङ गर्न सुझाए।
धनगढीबाट उनले मुम्बईको स्थानीय टिमसँगको खेलका लागि भारत भ्रमण गर्ने मौका पाए। त्यहाँ उनले एक खेलमा शतक प्रहार गरे।
गत वर्ष उनी नेपालको यु-१९ टिममा पर्न सफल भए। काठमाडौंमा भएको ट्यालेन्ट हन्टबाट उनी यु-१९ राष्ट्रिय टिममा छानिएका थिए।
यु-१९ टिमबाट उनको पहिलो विदेश भ्रमण भारत हो। भारतको लखनउमा आयोजना भएको त्रिकोणात्मक सिरिजका लागि उनी पहिलो पटकयु-१९ टिममा छनोट भएका थिए। भारतको ए र बी टिम तथा अफगानिस्तान सहभागी प्रतियोगितामा उनले दुई खेलमा मौका पाए। पहिलो खेलमा १६ रन र दोस्रो खेलमा २६ रन प्रहार गरे।
गत जुलाईमा मलेसिया भएको एसिसी यु-१९ पूर्व क्षेत्रीय प्रतियोगितामा पनि उनी टिममा परे। नेपाल च्याम्पियन बनेको उक्त प्रतियोगितामा उनले कुनै पनि खेलमा ब्याटिङको मौका पाउन सकेनन्।
सेप्टेम्बरमा श्रीलंकामा आयोजना भएको यु-१९ एसिया कप पनि उनले खेल्न पाएनन्।
'मैले खेल्न नपाए पनि यो प्रतियोगितामा नेपालले राम्रो खेलेको थियो,' उनले भने।
युवा टिममा परे पनि ब्याटिङको मौका कुरिरहेका लोकेशलाई गत महिना पिपिएल टिम विराटनगर टाइटन्सले ५० हजार रुपैयाँमा आबद्ध गर्यो।
'विराटनगरका कप्तान प्रदीप ऐरीले मेरो ब्याटिङ देख्नु भएको थियो। त्यसैले उहाँलाई मलाई विश्वास गरेर टिममा राख्नु भयो,' उनले भने।
पहिलो पटक फ्रेञ्चाइज लिग खेल्नुअघि लोकेश केहि दबाबमा थिए।
'आफ्नो नेचुरल खेल खेल्छु भन्ने थियो। राम्रो भए ठिक छ, नत्र फेरि अर्को पटक प्रयास गर्छु भन्ने लागेको थियो' उनले पिपिएलका लागि लक्ष्य बनाएका थिए।
उनले पिपिएलको तेस्रो खेलमा आफ्नो खेल देखाए। चितवनविरुद्धको खेलमा विराटनगरको ब्याटिङ लाइनअप संकटमा परेको अवस्थामा उनले ६२ रन जोडेका थिए।
चितवनले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा उनले ३६ बलमा ५ चौका र ५ छक्का हिर्काएका थिए। अन्तिम दुई ओभरमा जितका लागि ३३ रन चाहिएको अवस्थामा उनले १९ ओभरको पहिलो २ बलमा करण केसीलाई लगातार छक्का प्रहार गरेका थिए। तेस्रो उनी आउट हुँदा विराटनगरको आसा सकिएको थियो। तर युवा क्रिकेटरको रुपमा आफ्नो आसा भने जगाएका थिए।
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर पारस खड्का, युएईका रोहान मुस्ताफा, हङकङका ब्याट्सम्यान बाबर हायत, भारतका प्रतिभाशाली अलराउन्डर सनी पटेल जस्ता अनुभवी खेलाडीका अघि उनको ब्याटिङ शैली साँच्चै गज्जबको थियो। चितवनबाट खेलेका पारस, मुस्ताफा र हायत आ-आफ्नो देशको राष्ट्रिय टिमका पूर्वकप्तान समेत हुन्।
समूह चरणको अन्तिम खेलमा उनले ५ बलमा २ छक्काको मद्दतमा १३ रन जोडेका थिए। ५ खेलमा एक अर्धशतकसहित ९७ रन जोडेका उनी पिपिएलका 'मोस्ट भ्यालुएवल' खेलाडी चुनिए। फाइनलमा चितवन राइनोजसँग उनको टिम विराटनगर पराजित भए पनि उनले प्रतियोगितामा राम्रो छाप छाड्न सफल भए। जसले उनलाई यु-१९ टिममा मात्र होइन राष्ट्रिय टिमसम्म पर्न ढोका खुल्न सक्छ।
यसअघि टिममा पर्नका लागि संघर्ष गरिरहका उनले आफूलाई प्लेइङ-११ का लागि दबेदारी प्रस्तुत गरेका छन्। तर पहिलो रोजाइमा स्थान बनाइ राख्न थप मिहिनेत गर्नु पर्ने उनले बुझेका छन्। उनले भने,'मेरो लक्ष्य राष्ट्रिय टिमबाट खेल्ने हो। तर, अहिले यु-१९ टिमबाटै खेल्न केन्द्रित हुनेछु।'