कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर र नेपालका पूर्वकप्तान विनोद दासको टिमबीच प्रदर्शनी क्रिकेट खेल हुने भएको छ।
युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका सचिन र विनोदको टिमबीच आगामी शनिबार खेल गर्न ग्राउन्ड स्टाफलाई तयारी अवस्थामा राखिएको छ।
खेल बिहान १० बजेदेखि हुने स्रोतले जनाकारी दिएको छ। खेल १० ओभरको हुनेछ भने दुबै टिममा स्कुलका बालबालिका सहभागी हुनेछन्।
युनिसेफको सद्भावना दूत रहेका सचिन युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन्। विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुने छैन।
यो बीचमा नेपालले बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपमा प्रतिस्पर्धा गरिरहेको छ।
यस्तै, नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी-२० खेल्न युएईमा छन्।
युनिसेफले पारस र सचिनलाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न चाहे पनि टी-१० लिगका कारण सम्भव नहुने भएको छ।
जसका कारण विनोद दासलाई सचिनसँग समन्वय गर्न जिम्मेवारी दिन लागिएको हो।
यसअघि २०६९ असार १ मा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी नेपाल आएका थिए।
दुई दिने भ्रमणका दौरान धोनीले केही घन्टा कीर्तिपुरस्थित क्रिकेट मैदानमा बिताएका थिए। धोनीले होटल याक एन्ड यतीमा नेपाली क्रिकेटप्रेमी र प्रशंसकसँग क्रिकेटका विषयमा संवाद समेत गरेका थिए।