भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन्।
सचिन युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउन लागेका हुन्।
युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने लगभग पक्का भएको स्रोतले दाबी गरेको छ।
१६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकानी भइरहेको छ।
उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्।
स्रोतका अनुसार सचिन त्यही दिन भारत फर्कने कार्यक्रम छ।
सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए। त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए।
विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुनेछैनन्।
यो बीचमा नेपालले बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपमा सहभागिता जनाउँदैछ।
यस्तै, नेपालका पूर्वकप्तान पारस खड्का र सन्दीप लामिछाने यही समयमा टी-२० खेल्न युएई जाँदैछन्।
पारस नोभेम्बर ११ र सन्दीप नोभेम्बर १२ मा युएई जाँदैछन्।
पारसलाई नेपाल सरकारले पोषण तथा खाद्य सुरक्षाको सद्भावना दूत नियुक्त गरेको थियोे।
युनिसेफले पारस र सचिनलाई एउटै मञ्चमा राखेर कार्यक्रम गर्न चाहे पनि टी-१० लिगका कारण सम्भव नहुने भएको छ।
यसअघि २०६९ असार १ मा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी नेपाल आएका थिए।
दुई दिने भ्रमणका दौरान धोनीले केही घन्टा कीर्तिपुरस्थित क्रिकेट मैदानमा बिताएका थिए। धोनीले होटल याक एन्ड यतीमा नेपाली क्रिकेटप्रेमी र प्रशंसकसँग क्रिकेटका विषयमा संवाद समेत गरेका थिए।