दुई महिनाअघि नेपाली राष्ट्रिय क्रिकेट टिम टी–२० विश्वकप २०२० खेल्ने अभियानमा थियो। विश्वकपको पहिलो खुड्किलोको रूपमा रहेको एसिया छनोट खेल्न सिंगापुर पुगेको नेपाली टिम खराब खेल्दा विश्व छनोटमा समेत पुग्न सकेन।
अब नेपालले मुख्य गरी २ वटा प्रतियोगितालाई लक्षित गरेर तयारी गरिरहेको छ। आगामी मंसिरमा घरेलु मैदानमा हुने दक्षिण एसियाली खेलकुद र फागुनमा हुने विश्वकप लिग –१ अन्तर्गत अमेरिका र ओमानविरुद्धको त्रिकोणीय सिरिजअघि राम्रो टिम बनाउने नेपालको लक्ष्य छ।
दुई वटा प्रतियोगितालाई प्राथमिकतामा राखेको नेपालले असोजमा सिंगापुर र ओमानमा सिरिज खेल्दैछ। टी–२० फर्म्याटको दुवै सिरिजलाई नेपालले टिम निर्माणका लागि महत्वपूर्ण अवसरको रुपमा लिएको छ।
'दुवै सिरिजबाट एउटा राम्रो टिम बनाउने कोशिस गर्छौ ' नेपाली टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल भन्छन्।
सिरिजका लागि पटवालले युवा खेलाडीलाई मौका दिएका छन्। जसका कारण अनुभवी बलर बसन्त रेग्मी र ब्याट्सम्यान शरद भेषावकरलाई आराम दिइएको छ। यस्तै नियमित उपकप्तान ज्ञानेन्द्र मल्लले प्राविधिक कारणले सिंगापुर र ओमन भ्रमणमा हुने छैनन्।
युवा ब्याट्सम्यानद्वय कुशल मल्ल र इशान पाण्डेले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।
'हामीले युवा खेलाडीलाई अवसर दिइरहेका छौं। उनीहरुले अब आफूलाई कसरी ह्यान्डल गर्न सक्छन् र अवसरलाई कसरी सदुपयोग गर्न सक्छन्, त्यो महत्वपूर्ण छ,' पटवाल भन्छन्।
विश्वकप छनोटको रूपमा रहेको विश्वकप लिग–१ अघि नेपालले राम्रो टिम बनाउनु पर्ने कप्तान पारस खड्का बताउँछन्। त्यसका लागि क्षमता भएका खेलाडीलाई अवसर दिनु पर्ने पारसको भनाइ छ।
'विश्वकप छनोट अघि हामीले धेरै प्रयोग गर्न सक्छौं। त्यसैले क्षमता भएका खेलाडीलाई अवसर दिइरहेका छौ,' पारस भन्छन्, 'धेरै खेलाडीले मेहनेत गरिरहेका छन्। तर टिममा आउन सकेका छैनन्। सबैका लागि ढोका खुला छ। सिनियर खेलाडीका लागि ढोका बन्द भइसकेको भन्न पनि मिल्दैन।'
उनले टिममा स्थान सुरक्षित गर्न राम्रो प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै भने, 'टिममा कसैका लागि स्थान ग्यारेन्टी छैन।'
उनले ३० जना उत्कृष्ट खेलाडी तयार गर्नु पर्ने पनि बताउँदै टिममा परेका सबैले कप्तानी गर्न सक्छु भन्ने आत्मविश्वास राख्नु पर्ने बताए।
'शरद, ज्ञानु, बसन्त, म, शक्ति दाइ पछि पनि नेपाललाई अघि बढाउन सक्ने कप्तान चाहिन्छ। त्यसैले युवा खेलाडीले पनि नेतृत्व लिन सक्नुपर्छ,' उनले भने।
टिमले सिंगापुर र ओमान भ्रमणलाई आगामी प्रतियोगिताको तयारीको रूपमा लिएको उनको भनाइ छ।
'एसिया कप, २०२१ को टी-२० विश्वकप र २०२३ को विश्वकप छनोट खेल्दैछौं। २०२३ सम्मको यात्राका लागि राम्रो टिम बनाउन चाहान्छौ। जुन टिमले नेपाललाई विश्वकपसम्म पुर्याएर राम्रो खेल्न सकोस्,' पारसले भने।
दुवै सिरिजमा गरी नेपालले ८ वटा टी–२० सिरिज खेल्दैछ। सबै टिम उत्कृष्ट भएकाले नेपालले ओपनिङदेखि बलिङमा प्रयोग गर्न पाउने अवसर छ।
नेपाली टिम बुधबार सिंगापुर प्रस्थान गर्दैछ।
असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तर्राष्ट्रिय टी-२० सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिता सिंगापुरले टी-२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो। बंगलादेश भ्रमणमा रहेको जिम्बावे उतैबाट सिंगापुर प्रस्थान गर्नेछ।
नेपाल र जिम्बावे छनोटबाट बञ्चित भए पनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ।
नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ।
ओमान हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिता आइसिसी टी-२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो।
विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ।
नेपाली टिम
पारस खड्का, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, सुसन भारी, इशान पाण्डे।
सिंगापुरमा नेपालको खेल तालिका
असोज १० गते नेपाल भर्सेस जिम्बावे
असोज ११ नेपाल भर्सेस सिंगापुर
असोज १४ गते नेपाल भर्सेस जिम्बावे
असोज १५ गते नेपाल भर्सेस सिंगापुर
ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका
असोज १९ गते नेपाल भर्सेस हङकङ
असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स
असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान