वीरेन्द्रनगरमा सम्पन्न कर्णाली प्रिमियर लिग सिजन–२ (केपीएल–२) को उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले हात पारेको छ।
कालिन्चोक मैदानमा भएको अन्तिम खेलमा न्यू होराईजन क्रिकेट एकेडेमी बुटवललाई हराउँदै आर्मीले उपाधि आफ्नो पक्षमा पारेको हो। आर्मीले न्यु होराइजनलाई ५९ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ रोजेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो। आर्मीका लागि हरिबहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भिम सार्कीले अविजित २१ रन बनाए।
न्यू होराइजनका विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादवले समान १/१ विकेट लिएका थिए।
१४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो।
होराइजनलाई रोक्न आर्मीका बलर जितेन्द्र मुखिया र शाहब आलमले ३/३ विकेट तथा सुसन भारीले २ विकेट लिए। होराइजनका लागि विशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रनको योगदान दिए।
जितसँगै त्रिभुवन आर्मीले ५ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफि प्राप्त गरेको छ। उपविजेता बनेको होराइजनले २ लाख रुपैयाँसहित ट्रफि पाएको छ ।
केपीएलमा आर्मीको यो लगातार दोस्रो जित हो। त्रिभुवन आर्मी क्लबले अघिल्लो वर्ष सम्पन्न भएको कर्णाली प्रिमियर लिग पहिलो सिजनको उपाधि पनि जितेको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यु होराइजनका कप्तानसमेत रहेका शक्ति गौचन भए। गौचनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यस्तै उत्कृष्ट ब्याट्सम्यान कर्णाली–११ का रबिन्द्रजंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारी भए। दुवै जनाले जनही २०-२० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिता बैशाख १२ देखि सुरु भएको थियो प्रतियोगितमा विभागीयसहित ८ टिम सहभागी भएका थिए ।