इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन्।
उनलाई कप्तान पारस खड्काले स्वागत गरेका हुन्। उनलाई स्वागत गर्नको लागि खेलकुदप्रेमी र शुभेच्छुकहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागेको थियो। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आइपिएलमा सहभागी भएर आफूले धेरै उपलब्धि हासिल गरेको बताए। ‘नेपाललाई चिनाउने एउटा राम्रो अवसर थियो’ उनले भने।
केही दिनपछि उनी बेलायतको लर्डसमा हुने वेस्ट इन्डिजविरूद्ध आइसिसी विश्व ११ को खेलमा सहभागी हुन जानेछन्। साउन तेस्रो सातादेखि उनी अनुबन्धित भएको क्यारेबियन प्रिमियर लिग सुरू हुनेछ।
हेर्नुहोस् तस्बिरहरू:
यस्तो रह्यो सन्दीपको पहिलो आइपिएलआइपिएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले किनेपनि सन्दीपले खेल्न पाउनेमा धेरैलाई विश्वास थिएन।
दिल्लीले सुरूका महत्वपूर्ण खेलमा सन्दीपलाई प्लेइङ ११ मा राखेन पनि।
प्लेअफमा पुग्ने सम्भावना सकिएपछिका तीन खेलमा मात्र सन्दीप दिल्लीको प्लेइङ ११ मा परे। ती तीन खेल नै आफ्नो असीमित प्रतीभा देखाउन सन्दीपका लागि पर्याप्त भए। उनी यो सिजनमा आइपिएलका उत्कृष्ट बलरमध्येमा दरिए।
सन्दीपले सबै खेल दिल्लीको फिरोज शाह कोटला रंगशालामा खेले। यो रंगशाला यसपालि आइपिएलका खेल भएका मैदानहरूमध्ये इन्दोरपछि सबैभन्दा सानो हो।
सन्दीपले यहाँ उत्कृष्ट ब्याटिङ भएका तीन टोलीविरूद्ध बलिङ गरे। रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्धको पहिलो म्याचमा सन्दीपले फालेका २४ मध्ये १४ बल भारतीय कप्तान विराट कोहली र दक्षिण अफ्रिकी स्टार ब्याट्सम्यान एबी डी भिलियर्सले खेले। विशाल लक्ष्य पछ्याइरेहका कोहली र डी भिलियर्सले ती १४ बलमा १८ रनमात्र बनाउन सके। सन्दीपले ४ ओभरमा २५ रनमात्र खर्चे पनि अरू बलरले खराब प्रदर्शन गरेकाले दिल्लीले १८१ रनको स्कोर पनि जोगाउन सकेन।
दोस्रो म्याचमा सन्दीपका ४ मध्ये तीन ओभरमा यो सिजनमा उत्कृष्ट फर्ममा रहेका चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी क्रिजमा थिए। ११औं ओभरमा धोनीविरूद्ध सन्दीपले तीन बल फाले। आइपिएल करियरमै सम्भवत: सबैभन्दा राम्रो प्रर्दशन गरिरहेका धोनीले हरेक बलमा एक रनमात्र लिन सके।
१४ औं ओभरको पहिलो बलमा भारतका अर्का स्टार ब्याट्सम्यान सुरेश रैनालाई सन्दीपले आउट पारे। रैना आइपिएल इतिहासमा सबैभन्दा बढी रन बनाउने खेलाडीमा दोस्रो नम्बरमा छन्।
रैना आउट भएपछि आएका साम विलिङ्सले सन्दीपका बाँकी ४ बल खेले। धोनीले यो ओभरको १ बल खेलेर १ रन बनाए।
सोह्रौं ओभरमा पनि धोनीले २ बल खेलेर १ रनमात्र बनाउन सके। सन्दीपविरूद्ध आक्रामक खेल्न नसकेका धोनी त्यसपछि ट्रेन्ट बोल्टलाई प्रहार गर्न खोज्दा आउट भए। चेन्नईले सो खेल गुमायो।
आइतबार भएको मुम्बई इन्डियन्सविरूद्धको अन्तिम खेलमा सन्दीपले सनसनी नै मच्चाए। दुई ओभरमै उनले मुम्बईका तीन महत्वपूर्ण विकेट लिएर उसको प्लेअफमा पुग्ने ढोका बन्द गरिदिए।
मुम्बईसँगको खेलमा उत्कृष्ट प्रदर्शनसँगै सन्दीपले आफ्नो र नेपाली खेलाडीका लागि भने आगामी आइपिएलमा सम्भावना ढोका खोले।
आइपिएलको ११ औं सिजनमा स्पिनरमध्ये सन्दीप दोस्रो किफायती बलर बने। उनको भन्दा राम्रो इकोनोमी रेट न्युजिल्याण्डका इश सोधीको मात्र छ।
टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा उत्कृष्ट बलरमध्येका सोधीले खेलेका पाँच खेलमा पावरप्लेमा बलिङ नै गरेनन्। उनी पावरप्ले सकिएपछि मात्र बलिङमा आए।
पावरप्लेमा बाउन्ड्रीमा दुई जनामात्र फिल्डर हुन्छन्। त्यसपछिका ओभरमा पाँच जना फिल्डर राख्न पाइन्छ। बाउन्ड्रीमा २ जनामात्र खेलाडी हुँदा पावरप्लेका ओभरमा चौका र छक्का हान्न सजिलो हुन्छ। लामो प्रहार गर्न खोज्दा बाउन्ड्रीमा क्याचआउट हुने सम्भावना पनि कम हुन्छ।
राजस्थान रोयल्समा आवद्ध सोधीले चार खेल जयपुरको घरेलु सवई मान सिंह मैदानमा खेले। यसपालि आइपिएलका खेल भएकामध्ये यो हैदरावादको राजीब गान्धी रंगलशालापछि दोस्रो ठूलो बाउन्ड्री भएको रंगशाला हो।
सन्दीपले भने तीनै खेलमा पावरप्लेमा बलिङ गरे। दुइटा खेलमा त उनी पहिलो ओभरमै बलिङ गर्न आए। उनले फालेका १२ ओभरमध्ये ४ ओभर पावरप्लेमा थिए भने २ सोह्रौं ओभर थिए। टी-ट्वान्टीमा प्राय: ब्याट्सम्यानहरू पावरप्लेका ६ र अन्तिमका ५ ओभरमा बढी आक्रामक हुन्छन्।
सन्दीपले आफ्ना आधा ओभर बलिङ ब्याट्सम्यान आक्रामक हुने बेलामा गरे।
आइतबार साँझ मुम्बईविरूद्धको खेलमा सन्दीपभन्दा निकै अनुभवी र आइपिएल इतिहासकै दोस्रो धेरै विकेट लिने अमित मिश्राले समेत पावरप्लेमा बलिङ गर्ने हिम्मत गरेनन्। यो सिजनमा मिश्राले बिरलै पावरप्लेमा बलिङ गरे।
१२ ओभरमा ८२ रन दिएका सन्दीप सबैभन्दा कम इकोनोमी रेट भएका स्पिनरमा दोस्रो स्थानमा रहे।
यसपालि सोधीको इकोनोमी रेट ६.३१ रह्यो भने सन्दीपले ६.८६ का दरले रन खर्चिए।
अफगानिस्तानका मुजिब उर रहमानको इकोनोमी रेट ६.९९ रह्यो भने टी-ट्वान्टीका अहिलेका सर्वोत्कृष्ट बलर अफगानिस्तानकै रसिद खानले ७.२१ को रेटमा रन दिए। त्यस्तै वेस्ट इन्डिजका सुनिलनारायणको इकोनोमी रेट ७.६२ रह्यो।
स्पिनरमा मात्र होइन सन्दीपको इकोनोमी रेट अहिलेसम्म प्रतियोगितामा भएका खेलमा सबैखाले बलरमध्ये पनि उत्कृष्ट छ। प्रतियोगिताभरि नै उनीभन्दा राम्रो इकोनोमी रेट दक्षिण अफ्रिकाका लुंगी एन्गिदी (६.११), सोधी, प्रतियोगितामा सात खेल खेलेर तीन ओभरमात्र बलिङ गरेका अष्ट्रेलियाका अलराउन्डर दार्सी सर्ट (६.३३) र भारतीय बलर सन्दीप शर्मा (६.७८) को मात्र रह्यो।
सन्दीपको स्ट्राइक रेट पनि यो प्रतियोगिताका स्पिनरहरूमध्ये उत्कृष्ट छ। सन्दीपले औसतमा हरेक १४.४ बलमा विकेट लिएका छन्।
विशेषज्ञ स्पिनरमध्ये पाँच खेलमा ६.३ ओभरमात्र फालेका चेन्नईका करण शर्मा (१३) र बैंग्लोरका मुरुगन आश्विनले (१४) मात्र सन्दीपभन्दा कम बलमा विकेट लिए।
सन्दीपले सुरूका दुई खेलमा एउटा पनि खराब बल फालेनन्।
मुम्बईविरूद्धको तेस्रो खेलमा मात्र उनले पहिलो खराब बल फाले। सूर्यकुमार यादवले सन्दीपको सो सर्ट बलमा चौका हानेर मुम्बईको पारिको सुरूआत गरे।
दोस्रो बल पनि सन्दीपले खराब फाले। यादवले त्यो लेग साइडको सर्ट बलमा छक्का हाने। सुरूका दुई बलमा १० रन दिए पनि सन्दीपले तेस्रो बलमा फ्लाइट दिए। यादवले अर्को आक्रामक सट हान्न खोज्दा पूरै बिट भए र बाउन्ड्रीमा फिल्डर नभएकाले जोगिए। चौथो बलमा पनि सन्दीपले फ्लाइट दिए तर यसपटक गुग्ली फाले र यादवलाई क्याच आउट पारे। यसले उनको परिपक्वता झल्काउँछ।
लेग स्पिनरलाई खेल्न बाँया हातका ब्याट्सम्यानलाई तुलनात्मक रूपमा सजिलो हुन्छ तर सन्दीपले आउट पारेका पाँचमध्ये तीन ब्याट्सम्यान बाँया हाते थिए। तीनै जनालाई उनले गुग्लीमै आउट पारे। मुम्बईका किरन पोलार्डबाहेक सबै सन्दीपको गुग्लीको शिकार भए।
यसरी सन्दीपले आफ्नो बलिङमा रहेको नियन्त्रण र विविधता दुबै देखाए।
सन्दीपको यो प्रदर्शनले उनी संसारका उत्कृष्ट बलरमध्ये एक हुन् भन्ने प्रमाणित हुन्छ।
अघिल्लो वर्ष गुजरात लायन्सले किनेका युएईका ब्याट्सम्यान चिराग सुरीजस्तै एउटा पनि खेल खेल्न नपाई ‘टुरिस्ट’ मै सीमित नभएर सन्दीपले दिल्लीको प्लेइङ सेटमा आफूलाई स्थापित गरे। यो उत्कृष्ट प्रदर्शनसँगै अर्को आइपिएलका लागि उनले टिकट पक्का गरे।