कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिगमा (आइपिएल) मा आइतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गरेको छ।
घरेलु टोली बेंगलोरले प्रस्तुत गरेको १ सय ७६ रनको लक्ष्य कोलकाताले ५ बल बाँकी छँदै प्राप्त गरेको थियो।
कोलकाताको जितमा अस्ट्रेलियन ब्याट्सम्यान क्रिस लिनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै नटआउट ६२ रनको योगदान दिए। उनले ५२ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे।
दिनेश कार्तिकले २३ तथा उपकप्तान रोबिन उथप्पाले ३६ रन बनाए। सुनिल नाराइनले २७ रन जोडेका थिए। बेंगलोरका मुर्गन आश्विन र मोहमद सिराजले २/२ विकेट बाँडे पनि त्यो जितका लागि पर्याप्त रहेन।
यसअघि पहिलो ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७५ रन जोडेको थियो। उसका लागि कप्तान विराट कोहलीले नटआउट ६८ रन जोडेपछि बेंगलोर बलियो योगफलतर्फ अग्रसर भएको थियो। ४४ बल खेलेका कोहलीले ५ चौका र ३ छक्का प्रहार गरे। ओपनर ब्रेन्डन मक्कुलमले ३८ र क्विनटन डेककले २९ रन जोडेका थिए। मन्दिप सिंहले १९ र कोलिन डे ग्रान्डहोमले नटआउट ११ रन बनाए।
कोलकाताका लागि आन्द्रे रसेलले ३ र कुलदिप यादवले १ विकेट लिए।
यो जितसँगै कोलकाता ८ अंकसहित लिगकको चौथो स्थानमा उक्लिएको छ। पराजित बैंलोर ४ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। आज दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र दिल्ली डेयरडेभिल्स खेल्नेछन्।
७ खेलबाट १० अंक बनाएको चेन्नई रनरेटको आधारमा दोस्रो स्थानमा छ भने समान खेलबाट ४ अंक जोडेको दिल्ली पुछारमा छ।