क्रिस गेलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा छैठौं सतक प्रहार गरेका छन्। किङ्स ११ पञ्जाबबा यो सिजन आइपिएल खेलेका गेलले बिहिबार पहिलो शतक प्रहार गरेका हुन्।
सनराइजर्स हैदरावादविरुद्ध आक्रमक ब्याटिङ गर्दै गेलले ५८ बलमा ११ छक्का र १ चौकासहित शतक पुरा गरेका हुन्।
६३ बलको इनिङ्स खेलेका उनले अविजित १ सय ४ रन बनाए। पहिलो विकेटका लागि लोकेश राहुलसँग ५३ रनको साझेदारी गरेका गेलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे ।
त्यस्तै तेस्रो विकेटका लागि गेलले करुण नायरसँग ८५ रन र आरोन फिन्चसँग चौथो विकेटका लागि अविजित २५ रनको साझेदारी गरे।
यसअघि सन् २०१५ को आइपिएलमा रोयल च्यालेन्जर्सर बैंलोरका लागि गेलले किङ्स ११ पञ्जावविरूद्ध ११७ रन प्रहार गरेका थिए। यस्तै सन् २०१३ मा पुनेविरूद्ध १७५ रनको नटआउट पारी खेलेका थिए। ६६ बल खेलेका उनले १७ छक्का र १३ चौका प्रहार गरेका थिए। यो नै आइपिएलको व्यक्तिगत सर्वाधिक रन पनि हो।
यसअघि सन् २०१२ मा दिल्ली डेयरडेभिल्स विरूद्ध गेलले १२८ रन प्रहार गरेका थिए। त्यसअघि सन् २०११ मा पञ्जावविरूद्ध १०७ रन बनाएका गेलले सन् २०११ मै कोलकाता नाइट राइडर्सबिरूद्ध १०२ रन बनाएका थिए।
आइपिएल २०१८ मा चारमध्ये दुई खेल खेलेका गेलले सतकसहित १६७ रन बनाएका छन्। उनले पहिलो खेलमा चेन्नई सुपरकिङ्स विरूद्ध ३३ बलमा ६३ रन बनाएका थिए। दोस्रो खेलमा सनराइजर्स हैदरावादबिरूद्ध ६३ बलमा १०४ रन बनाएका हुन्। उनले सुरूवाती दुई खेल गुमाएका थिए।