नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा बिहिबार र शुक्रबार काठमाडौंमा हुने भएको छ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव अशोकनाथ प्याकुरेलले आगामी बिहिबार र शुक्रबार आइसीसी प्रतिनिधिको उपस्थितमा साधारण सभा हुने जानकारी दिए।
नेपाली क्रिकेटलाई जिवित राख्न आफूहरूले हदैसम्मको लचकता अपनाउनेसमेत प्याकुरेलले जानकारी दिए।
क्यानको चुनावमा क्यानका सदस्यहरुले प्रत्यक्ष रुपमा उम्मेद्वार हुन र भोट हाल्न नपाउने विधान बनेको महासचिव प्याकुरेलले जानकारी दिए।
‘मुख्य मुद्दा हालको कमिटिमा रहेका १७ जना केन्द्रीय सदस्यहरुले मताधिकार पाउने नपाउने भन्ने थियो त्यसमा पनि हामीले लचकता अपनाउँदै मताधिकार नभए पनि हुने निर्णयमा यसअघि नै पुगिसकेका छौं,’ प्याकुरेलले भने, ‘सम्पूर्ण प्रकृयालाई ब्यवस्थित रुपमा अघि बढाउन अनुगमन समिति हुने भएकाले अब कुनै समस्या नहोला भन्ने आशा छ।’
त्यसैगरी क्यानको चूनावको लागि आइसीसीले मनिटरिङ कमिटी गठन गर्ने प्याकुरेलले जानकारी दिए।
मनिटरिङ कमिटीमा आइसीसीको ३ क्यानको १ र राष्ट्रिय खेलकुद परिषदको १ जना सदस्य रहने उनले बताए।
नेपाली क्रिकेटले ठूलो उचाई लिइरहेको भन्दै प्याकुरेलले आईसिसिसँग पछिल्लो चरणमा भएका वार्ता र सरकारले दिँदै आएको समर्थनका आधारमा अब नेपाली क्रिकेटमा कुनै बाधा अड्चन नहुने दाबी गरे।