नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र धुर्मुस सुन्तली पाउण्डेशनले शनिबारदेखि औपचारिक रुपमा ‘फिल्ड भिजिट’ सुरू गरेका छन्।
मुख्यमन्त्री पौडेलसहित फाउण्डेसनका सिताराम कट्टेल (धुर्मुस) तथा कुमार कट्टेल (जिग्री) सहितको टोलीले प्रदेश नंबर ३ अन्तर्गत भक्तपुरको चाँगुनारायण नगरपालिकामा वाड नम्बर ४ मा रहेको १ सय २५ रोपनी जग्गाको अवलोकन गरेका छन्।
उक्त जग्गामा अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि उनीहरूले ‘फिल्ड भिजिट’ गरेका हुन्। ‘फिल्ड भिजिट’ पछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको लागि फाउण्डेसनसँगको सहकार्य गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने बताए।
नेपाली क्रिकेट विकासको लागि रंगशाला निर्माण कोशेढुंगो हुने भन्दै उनले प्रदेश नंबर ३ बाट यसको थालनी हुने बताए। ‘फिल्ड भिजिट’ पछि प्रतिक्रिया दिँदै फाउण्डेसनका सिताराम कट्टेलले सबै नेपाली खेलप्रेमीको लागि रंगशाला निर्माण अत्यावश्यक रहेकोले आफूहरूले पनि यो कार्य गर्न लागेको जानकारी दिए।
खेल मैदानको अभावमा पनि अन्तर्राष्ट्रिय क्रिकेटमा फड्को मारेको नेपालले अन्तर्राष्ट्रिय मैदान निर्माण गर्नसके क्रिकेट विकासमा अझ नयाँ आयाम थपिने उनको भनाई रहेको थियो। ‘फिल्ड भिजिट’ मा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको पनि सहभागिता थियो।