- श्रीलंका पहिलो इनिंङ: २०५/१० (चण्डीमल ५७, करुनारत्ने ५१, आश्विन ४/६७)
- भारत पहिलो इनिंङ: ६१०/६ पारि अन्त्य (कोहली २१३, पुजारा १४३ , परेरा ३/२०२)
- श्रीलंका दोस्रो इनिंङ: १६६/१० (चण्डीमल ६१, आश्विन ४/६३)
- भारत १ इनिग र २३९ रनले बिजयी
रविचन्द्रन आश्विनले चौथो दिन ४ विकेट लिएपछि भारतले श्रीलंकामाथि दोस्रो टेस्ट फराकिलो अन्तरले जितेको छ।
नागपुरमा भएको दोस्रो टेस्ट इनिङ र २३९ रनले जित हात पार्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता लिएको हो।
यसअघि कोलकत्तामा भएको पहिलो टेस्ट रोमान्चक मोडमा पुग्दै बराबरीमा सकिएको थियो।
तेस्रो दिनको समाप्तीमा १ विकेट गुमाएर २१ रनको स्थितिमा रहेको पाहुना टोलीले चौथो दिन मात्र १४५ रन थप्दा ९ विकेट गुमाएको हो। श्रीलंकाका लागि कप्तान दिनेश चण्डीमलले ६१ रनको पारि खेले पनि अन्य ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा भारतसँग घुँडा टेकेको हो।
श्रीलंकाका ५ ब्याट्सम्यान दोहोरो रन जोड्न सकेनन्।
पाहुना टोलिलाई सस्तैमा समेट्न रविचन्द्रन आश्विनले आफ्नो टेस्ट क्यारियरको ३०० औ विकेट पुरा गरे। उनले महत्त्वपूर्ण ४ विकेट लिनेक्रममा १७.३ ओभरमा ४ मेडनसहित ६३ रन खर्चिए ।
यो सँगै आश्विनले टेस्ट क्रिकेटमा पूर्वअस्ट्रेलियन खेलाडी डेनिस लिलीको ५६ टेस्टमा बनाएको रेकर्ड ५४ टेस्टमा पुरा गर्दै तोडेका छन्।
त्यस्तै इशान्त शर्मा, रविन्द्र जडेजा र उमेश यादबले समान २/२ विकेट लिए ।
यसघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका पहिलो दिन मात्र २०५ रनमा समेटिएको थियो। जावाफी ब्याटिङमा उत्रिएको भारतले आफ्नो पहिलो इनिंङमा कप्तान विराट कोहलीको दोहोरो शतकको मद्धतमा ६१० रन जोड्दा पारि अन्त्य भएको घोषणा गरेको थियो।
यी दुई टोलीबिचको तेस्रो तथा अन्तिम टेस्ट शनिबारबाट दिल्लीमा हुनेछ। टेस्ट श्रंखला पछि दुवै टोलीले एकदिवसीय र टी-ट्वान्टी श्रृंखला खेल्नेछन्।