न्यूजिल्याण्डले भारतसँगको टी-२० क्रिकेट एक–एकको बराबरीमा ल्याएको छ। प्रारम्भिक ब्याट्सम्यान कोलिन मुनरोका अविजित १ सय ९ रनको सतकीय इनिङ र उत्कृष्ट बलिङ प्रदर्शनका कारण भारतलाई ४० रनले हराउँदै भ्रमणकारी न्युजिल्यान्डले तीन वटा टि–२० शृंखलालाई १–१ को बराबरीमा राखेको हो।
न्यूजिल्याण्डको जितमा कोलिन मुन्रोको विष्फोटक ब्याटिङ र ट्रेन्ट बोल्टको बलिङको मुख्य भूमिका रह्यो।
न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्ने क्रममा मार्टिन गुप्टिल र मुनरोको प्रारम्भिक जोडीले १ सय ५ रनको साझेदारी गरेको थियो। मुनरोको टि–२० मा करिअरको दोस्रो सतक थियो। ५८ बल खेलेका मुन्रोले ७ छक्का र ७ चौकाको मद्दतमा नटआउट १ सय ९ रन बनाए भने गुप्टिलले पनि ४५ रन बनाएपछि किवीले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९६ रन बनायो।
१ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन मात्र बनाउन सक्यो। उसका लागि कप्तान विराट कोहलीले ६५ र महेन्द्रसिंह धोनीले ४९ रन बनाए पनि टीमलाई जिताउन सकेनन्। श्रेयस आयरले २३ रन बनाए भने बाँकी ब्याट्स्म्यान दोहोरो अकंमा रन नजोडी पेविलियन फर्किए।
न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए।
भारत र न्यूजिल्याण्डको तेस्रो तथा अन्तिम टी- २० आउँदो मंगलबार हुँदैछ।