हंगेरीको बुढापेस्टमा ४५औं ओलम्पियाड मंगलबारदेखि औपचारिक रूपमा सुरू भएको छ। ओलम्पियाडमा बुधबारदेखि खेलहरू सुरू हुँदैछ।
तर प्रतियोगिताका लागि छनोट भएका नेपालका नौ खेलाडीको भने सहभागिता अनिश्चित बनेको छ। प्रतियोगिताका लागि नेपालबाट १० खेलाडी छनोट भएका थिए। १० खेलाडी मध्ये विवेक थिङ अस्ट्रेलियाबाट मंगलबार बुढापेस्ट पुगेका थिए।
तर नेपालमा रहेका अरू ९ खेलाडीको भने भिसाका कारण बुढापेस्ट जान ढिलाइ भएको हो।
सुरु नेपालका ९ खेलाडीसहित २१ जनाले हंगेरीको भिसाका लागि काठमाडौंस्थित जर्मन दूतावासमा भिसा आवेदन दिइएको थियो। ९ खेलाडीबाहेक नेपाली टोलीमा नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धर्म लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य राजु ताम्राकारसँगै नारायणदास गमाल, अमृतचन्द्र श्रेष्ठ, प्रेमबहादुर मल्ल, अनिलकुमार रिजाल, माधवप्रसाद प्रधान, चन्द्रमणी गेरै लगायतको नाम थियो।
तर दूतावासले ९ खेलाडीसहित सबै जनालाई भिसा दिन अस्वीकार गरेको हो। नेपालबाट भिसा नपाएपछि नौ खेलाडी र अध्यक्षसहितका केही पदाधिकारीअहिले भारत गएका छन्। त्यहाँ आज भिसाका लागि समय प्राप्त भएको नेपाल चेस महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले सेतोपाटीलाई जानकारी दिए।
‘नेपालमा हंगेरीको दूतावास नभएपछि हामीले भिसाका लागि जर्मन दूतावासमा समय लिएका थियौ। यहाँबाट नौ जना खेलाडी, दुई जना अफिसियल, डेलिगेट्स र हेड हफ डेलिगेट्स गरी कुल १३ जना जानु पर्ने हो। चेस महासंघको कार्यसमितिमा नभएका साथी र केही पत्रकार साथी जाने टोलीमा थपिनु भयो। यो विषयमा अध्यक्ष र महासचिवले छलफल नगरी नाम राख्नु भएछ,’ राईले सेतोपाटीसँग भने, ‘यहाँबाट सबै जनालाई भिसा नदिएपछि अहिले भारत जानु भएको छ। आज दूतावासले बोलाएकाले के हुन्छ भन्ने थाहा हुन्छ।’
उनले भिसा कारण खेलाडीहरुको सहभागिता अन्योलमा परेको पहिलो घटना भएको भन्दै दु:ख समेत व्यक्त गरे।
नेपालबाट खेलाडीले भिसा नपाउदा उनीहरूलाई अनावश्यक दबाब परेको समेत बताए। ‘यहाँको दूतावसले तपाइँहरू फर्कनु हुन्छ भन्ने आधार नभएको बताएको भन्ने सुनियो। खेलाडीभन्दा अफिसियल बढी भएकोमा पनि उनीहरूको प्रश्न थियो,’ राईले भने।
दूतावसले सेन्जेन भिसाका लागि चेस महासंघबाहिरका मानिसको नाम सिफारिस गरेकाले शंका गरेको महासंघका एक सदस्यको दाबी छ।
ओलम्पियाडको तयारीका लागि बन्द प्रशिक्षण समेत सञ्चालन गरेको थियो। त्यसका लागि काजकिस्तानका ग्रान्ड मास्टर (जीएम) मुर्ताज कागालेएभ नेपाल आएका थिए। नेपालको प्रशिक्षकको रुपमा उनी बुढापेस्ट पुगिसकेका छन्।
ओलम्पियाडमा नेपालबाट पुरुषतर्फ राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भण्डारी, रुपेश जैसवाल र विवेक थिङ छनोट भएका थिए। महिलातर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ सहभागी हुने तय छ।
तर विवेकबाहेक अरु खेलाडी दिल्लीमै रोकिदा नेपाली टोलीको पेयरिङ समेत गरिएको छैन। आज भिसा पाए पनि नेपाली खेलाडीले पहिलो चरणको खेल गुमाउने पक्का जस्तै भएको छ।