सुर्खेतको वीरेन्द्रनगरमा प्रथम ‘कर्णाली हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ।
शनिबार हुने म्याराथनको तयारी पूरा भएको आयोजक रेस नेपालले जनाएको छ।
सुर्खेतमा पहिलोपटक हाफ म्याराथन हुने भएकाले स्थापित धावकलाई प्रोत्साहन गरिएको रेस नेपालका अध्यक्ष टिएस ठकुरीले बताए। कर्णाली हाफ म्याराथनमा सहभागी हुन राष्ट्रिय रूपमा स्थापित धावकहरूले नाम दर्ता गराएको उनले जानकारी दिए।
नेपालगञ्जमा म्याराथन हुन थालेको एक दशक पुगेको अवसरमा रेस नेपालले सुर्खेतमा हाफ म्याराथन गर्न थालेको हो। दौड संस्कृतिको विकास गर्न यस वर्षदेखि कर्णाली हाफ म्याराथन सुरू गरिएको ठकुरीले जानकारी दिए। म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टले गरेको छ।
पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनमार्फत् क्रमिक रूपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवर्द्धन गराउनेतर्फ जोड दिइनेछ। कर्णालीमा यही वर्ष आयोजना हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रवर्द्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गरिएको रेस नेपालले जनाएको छ।
कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रूपमा सहकार्य गर्नेछ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय तह र निजी क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो। प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीले पाएका छन्।