दाङको तुलसीपुरस्थित अरनिको मैदानमा कुस्ती खेल प्रतियोगिता सकिएको छ।
युथ अफ तुलसीपुरको आयोजना तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रायोजनमा तीन दिनदेखि प्रतियोगिता सुरू भएको थियो। प्रतियोगिताको लुम्बिनी प्रदेशका उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री सरोज थापाले उद्घाटन गरेका थिए।
उक्त प्रतियोगिता हेर्नेहरूको बाक्लो उपस्थिति थियो।
बिहीबारको खेलमा रोल्पाको त्रिवेणी गाउँपालिका कुस्ती बाज गोपाल गौतमले छिमेकी देश भारतका बिल्लालाई हराउँदै दर्शकले खुसी भई नेपाल भन्दै हुटिङ गरेका थिए। सुनसरीका राजु थापाले अर्का भारतीय कुस्ती बाजलाई पछार्दा पनि त्यसैगरी दर्शकदिर्घाबाट तालीको पर्रा छुटेको थियो।
विजेता खेलाडीलाई दर्शकले उपहार स्वरूप नगद पुरस्कार पनि दिएका थिए। नेपाली खेलाडी रिङमा उत्रँदा उनीहरूको पक्षमा चर्को हुटिङ हुने गरेको थियो। प्रतियोगितामा पाँच जनामात्रै नेपाली खेलाडी थिए भने २६ जना भारतीय कुस्ती बाजहरूको सहभागिता थियो।
यूथ अफ तुलसीपुरले गत वर्ष पनि यस्तै कुस्ती प्रतियोगिता आयोजना गरेको थियो।
युथ अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले एउटा पुरानो खेल कुस्तीप्रति युवालाई आकर्षित गर्न गत वर्ष जस्तै यो वर्ष पनि प्रतियोगिता आयोजना गरिएको बताए।
सबै तस्बिर: नारायण खड्का