शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन्।
उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन्।
आयुष कुँवरलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो। नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
आयुषले वासिङ्गटनको स्पोकानमा भएको विथवर्थ इन्डोर ट्रयाक एण्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोर अन्तर्गत ६० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन्।
आयुषले क्वालिफाइङ राउण्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउण्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
अमेरिकाको सिटी स्पिड एसएफ क्लबमा प्रशिक्षण गर्दै आएका आयुषले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए।
६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तथा २०० मिटर दौडमा ७ वर्ष पुरानो कीर्तिमान लाई तोड्न पाउँदा खुशी लागेको आयुषले बताए।