नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धन गर्न पोखरामा दुई देशका धावक एकसाथ दौडिने भएका छन्।
पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिताका नाममा दुई देशका धावक एकसाथ दौडिने आयोजकले बताएका हुन्।
नेपालका लागि चिनियाँ राजदूतावास काठमाडौं, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण दौड प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा चीनका १० टिम र नेपाली १० टिम सहभागी हुनेछन्। एउटा टिममा ३ जनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुने प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले बताए।
यही मंसिर ९ गते हुने प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ। फेवाताल किनार बाराहीघाटबाट सुरू हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुने प्रतियोगिता संयोजक पालिखेले बताए।
नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि राखिएको छ।
नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौं हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत स्पर्धामा चौथोदेखि १० औं तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। यस्तै, विद्यार्थीको प्रतिस्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको संयोजक पालिखेले बताए।
पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगितामा सहभागी हुन आउने खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पोखरा आउँदैछन्।
हिमालयन एयरलायन्स चार्टर उडान गरी उनीहरू पोखरा आउन लागेको संयोजक पालिखेले बताए।
‘दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चीन सरकारकै सहयोगमा चार्टर उडानमार्फत् पोखरा आउँदै छन्,’ उनले भने, ‘हिमालयन एयरलायन्स दोस्रो पटक पोखरामा चार्टर उडानमार्फत् ल्याण्ड हुँदैछ।’
यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर गरी पोखरा आएका थिए।
प्रतियोगिता सफल बनाउन २२ वटा उपसमिति गठन गरिएको छ। चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखरा सहआयोजक भएको प्रतियोगितामा नेपाली र चिनियाँ संघसंस्थाले सहयोग गरेका छन्।
उक्त प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने होटल एसोसिएसन अफ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
‘चीन र नेपालबीच हुने मैत्रीपूर्ण दौडले पोखरामा चिनियाँ पर्यटक आकर्षित हुने हाम्रो विश्वास छ,’ उनले भने।
यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएको थियो। कोभिड–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन।
नेपाली र चिनियाँ दौड प्रतियोगिता सफल बनाउन पोखराका सबै संघ संस्थाले सहयोग गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
नेपाल र चीनका खेलाडीबीच मैत्रीपूर्ण क्रस कन्ट्री दौडले पर्यटन प्रवर्द्धन हुने उनले बताए।
‘असारमा ड्रागन बोट फेष्टिभल हुँदा चिनियाँ पर्यटक बढ्ला भन्ने हाम्रो विश्वास थियो तर अपेक्षाकृत बढेको छैन,’ उनले भने, ‘यस्ता कार्यक्रम भइराख्यो भने चिनियाँ पर्यटक बढ्छन् भन्ने हाम्रो विश्वास छ।’