१७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेस कात्तिक २४ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। ७ वर्षअघि सुरू भएको प्रतियोगिताको यो तेस्रो संस्करण हो।
२४ गते बिहान ६ बजे काठमाडौंको दहचोकस्थित कालु पाण्डेबाट १७० किलोमिटर दौड सुरू हुनेछ। यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र भएको आयोजकको दाबी छ।
मञ्जुश्री ट्रेल रेस अन्तर्गत नै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेको सहभागीको लागी झुले, चापाखर्क र फर्पिङबाट क्रमशः ९२, ५४ र २४ किलोमिटरका तीन वटा रेस प्रतियोगिता हुनेछ। सबै दौडहरू दहचोकस्थित कालु पाण्डे स्मार्कमै पुगेर सकिनेछन्।
गैरनाफामूलक संस्था 'मञ्जुश्री ट्रेल रेस' ले ट्रेलमाण्डुको सहकार्यमा कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष सुवास थापाले जानकारी दिए। कार्यक्रमको व्यवस्थापनमा आयोजक समितिका पदाधिकारीसहित ५० जना स्वयंसेवक खटिने छन्।
आयोजकका अनुसार १७० किलोमिटरको दौडमा पुरूष र महिलातर्फका विजेताले २०२४ मा नेपालको प्रतिनिधित्व गर्दै स्वीट्जरल्याण्डमा आयोजना हुने 'अल्ट्रा टुर मोन्टा रेस (युटिएमआर)' मा सहभागी हुने अवसर पाउनेछन्।
सो अवसरमा उनीहरूको अर्थिक लगायत सम्पूर्ण व्यवस्थापनको संयोजन मञ्जुश्री ट्रेल रेसले गर्ने बताइएको छ ।
स्वीट्जरल्याण्डमा आयोजना हुने युटिएमआर अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेस भएकाले धावकहरूले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ अवसर पाउने थापा बताउँछन्।
विजेताले नगद र प्रमाणपत्रसहित 'एड्भेन्चर गियर' पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले बताएको छ।
रेसको गत वर्षको संस्करणमा ४२ जना नेपाली र ३१ जना विदेशी सहभागी भएकोमा नेपालका अर्जुन राईले ३१ घण्टा १० मिनेट ५७ सेकेण्डमा यो रेस पूरा गरेर प्रथम भएका थिए।
कसरी सहभागी हुने?
आयोजकले दौडका लागि आह्वान सुरू गरिसकेको छ। अनलाइनमार्फत् नेपाली एवं विदेशी धावकले आफूलाई इच्छा लागेको दौडका लागि आवेदन दिन सक्नेछन्। जसका लागि आयोजक संस्थाको आधिकारिक वेबसाइट (www.manjushreetrailrace.com) मार्फत् आगामी बिहीबारसम्म आवेदन दिन सकिन्छ।