राफेल नाडालले आठौंपटक इटालियन ओपन टेनिसको टाइटल जितेका छन्।आइतबार उनले डिफेन्डिङ च्याम्पियन एलेक्जेन्डर जेँरेभलाई ६-१,१-६,६-३ले हराउँदै सो उपाधिमा कब्जा जमाएका हुन्।
जीतसँगै नाडालले विश्व वरियतामा रोजर फेडररलाई पन्छाउँदै नम्बर एकको स्थानमा पनि कब्जा जमाउन सफल भएका छन्।
फेडरर हाल विम्बल्डनको तयारीमा रहेकाले कुनै प्रतियोगितामा सहभागी भइरहेका छैनन्।
नाडाल र जेभरेभ दुबैले यस्ता दुई वटा खुल्लाप्रतियोगिता जितेका छन्। नाडालले मोन्टे कार्लो तथा बार्सिलोनाको उपाधि जितेका छन् भने जेभरेभले म्यूनिख तथा म्याड्रिड प्रतियोगिता जितेका छन्।
नाडालले जेभरेभ विरूद्ध हालसम्म खेलेका पाँचै खेलमा विजयी भएका छन्। यसले नाडाललाई आगामी आइतबारबाट हुने फ्रेन्ड ओपनका लागि मनोबल बढाउने काम गरेको छ।
सो प्रतियोगिताको महिलातर्फको उपाधि भने इलिना सिभटोलिनाले प्रतिरक्षा गरेकी छन्। उनले सिमोना हालिपलाई ६-०, ६-४ को सिधा सेटमा हराउँदै बचाएकी हुन्।