१३औं दक्षिण एसियाली खेलकुद(साग)को पहिलो दिन। फाइनलको केही मिनेटअघि अनु अधिकारीलाई कसैले भन्यो– तिम्रो लागि ब्याड न्युज छ।
अकस्मात् आएको जानकारीले उनी एकछिन डराइन् पनि।
'साथीहरूले समाचार राम्रो छैन, हिम्मत राख भन्नुभयो,' करातेकी स्वर्ण विजेता अनुले फाइनलअघिको समय सम्झिइन्, 'प्रतिस्पर्धी खेलाडीले यसअघि नै तीन स्वर्ण जितेकी रहिछन्। समाचार साँच्चै शुभ थिएन। निकै डर लाग्यो।'
खबर सुनेपछि उनले एकसरो वरिपरि नियालिन्। नेपाल, नेपाल भन्दै दर्शक झन्डा लिएर चिच्याइरहेका थिए।
सँगै गएका गुरू दीपक श्रेष्ठले रिङमा जानुअघि अनुलाई भने, 'चिन्ता नलिई खेल, म जसरी पनि जिताउँछु।'
साथीहरूको सहयोग र गुरूको हौसला लिएर उनी रिङमा उत्रिइन्।
तीन पटक स्वर्ण जिते पनि श्रीलंकाकी डन टुउलुको सीप अनुका अगाडि फिक्का भयो। करातेको कुमुते ५० केजी तौल समूहमा ८–० फराकिलो अंकले अनुले जित हात पारिन्। योसँगै अनुको नौ वर्षको स्वर्ण 'तपस्या' पूरा भयो।
खेल सकिएको एक सातापछि भेट्दा पनि अनुको अनुहारमा खुसी ताजा देखिन्थ्यो। आँखा चम्किरहेका थिए।
'नेपालको पक्षमा भिड देख्दा झनै ऊर्जा मिल्ने रहेछ,' उत्साहित हुँदै सुनाइन्, 'सबैको सहयोग, आश र भरोषाले नै स्वर्ण सम्भव भएको हो।'
११ औं सागमा पनि अनु स्वर्ण नजिक पुगेकी हुन्। उनकै शब्दमा भन्दा त्यति बेला 'भाग्यले साथ' दिएन। रजतमा समेटिइन्। सबैले राम्रो मानेका थिए। प्रशंसा गरेका थिए। तर सँगै गएकी साथीले स्वर्ण जितेपछि अनुको चर्चा एकाएक सेलायो। उनको चित्त बुझेन।
'त्यति बेला पनि अन्तर्राष्ट्रिय फोरमबाट कराते खेलाडीमा आफूलाई चिनाउन पाउँदा निकै खुसी लागेको थियो,' उनले ११औं सागबारे सुनाइन्, 'तर केही समयमै मेरो रजतको प्रशंसा सेलायो। स्वर्णसामु यसको भ्याल्यू रहेनछ भन्ने ठानेँ।'
त्यसो त ११ औं सागमा उनी १६ वर्षकी मात्र थिइन्। एसएलसी दिनासाथ बंगलादेशमा हुने खेलमा सहभागी हुने मौका मिल्यो। तर उमेर र अनुभव दुवैले कच्चा। त्यति बेला पनि श्रीलंकाकी खेलाडीसँग नै उनको फाइनल भिडन्त भएको थियो।
१२ औं सागमा कराते समावेश नै भएन। स्वर्ण जित्ने अनुको छट्पटीले १३ औं साग कुर्नुको विकल्प रहेन। प्रतीक्षा गरिन्। फल मीठो हुन्छ भन्ने उक्ति प्रमाणित भयो।
भन्छिन्, 'मलाई अझै पनि लाग्छ, खेल खेल्ने स्वर्णकै लागि हो।'
नुवाकोटकी अनुले सात कक्षा पढ्दादेखि नै कराते रोजेकी हुन्। साथीहरूले 'कराते गेम छ' भन्दै बिदा लिन्थे रे। कराते खेलाडी भनेपछि कक्षामा शान दिन पाइन्थ्यो रे। सबैले ओहो! भन्ने।
अनुलाई करातेमा चाख बढाउने कारण यिनै हुन्। स्कुलपछि बालाजु डोजोमा सिक्न थालिन्। ०६५ बाट राष्ट्रिय टिममा परिन्। त्यसपछिका राष्ट्रिय खेलमा लगातार स्वर्ण विजेता। सदावहार च्याम्पियन।
छोटो समयमै सफलता मिल्दै जाँदा उनमा मनोबल बढ्दै गएको थियो। ११ औं सागबाट फर्किएपछि थप रूचि बढ्यो। नियमित अभ्यास र १३ औं सागको प्रतीक्षा छँदै थियो। यसैबीच सन् २०१४ मा दक्षिण कोरियामा भएको १७ औं एसियन गेम, जापानमा भएको नवौं विश्व सितोरिओ कराते च्याम्पियनसिप लगायतमा सहभागिता जनाइन्।
कराते, कुमुतेमा सेल्फ डिफेन्स र हातगोडाको चालमा दुई खेलाडीबीच फाइटिङ हुन्छ। कातामा स्पष्ट ढगंमा सेल्फ डिफेन्स र हातगोडाको चाल देखाउनुपर्छ। कुमुते च्याम्पियन अनुको स्वाभावबारे धेरैले सोध्छन्।
'म झगडा गर्दिनँ। फाइटिङ रमाइलो लाग्ने भएकोले कुमुते रोजेकी हुँ,' भनिन्, 'पहिले काता पनि सिकेकी थिएँ। पछि एउटा मात्रै रोज्नुपर्ने भएकाले फाइट रोजेँ।'
१३ औं सागमा भाग लिनुपूर्व कराते टोलीले मलेसियन गुरू आरीबाट केही 'टेक्निक' सिक्ने मौका पाएका थिए। सात दिने तालिमको अनुभव सुनाउँछिन् अनु, 'नेपालमा नसिकेका खेलका नैतिकतादेखि लिएर नयाँ तरिका सिक्ने मौका पायौं। त्यसले पनि सहयोग गरेको हो।'
तर खेलाडी मात्रै भएर बस्न पेशागत हिसाबले सम्भव नहुने उनको धारणा छ। सात वर्षयता उनी स्कुले विद्यार्थीलाई कराते सिकाउँदै छिन्। आफूले सिक्दै र आफूभन्दा सानालाई सिकाउन पाउँदा निकै आनन्द लाग्ने बताउँछिन्।
भन्छिन्, 'मैले सिकाएका बहिनीहरूमा पनि स्वर्णिम सपना देखेकी छु। अब झन् आफ्नो अनुभव सुनाउन पाउँछु।'
उनलाई राष्ट्रियस्तरको प्रशिक्षक हुने चाहना छ।
अबका केही महिना उनी ओलम्पिकको तयारीमा व्यस्त हुनेछिन्। उनले ओलम्पिक सोसाइटीबाट छात्रवृत्ति पनि पाएकी छिन्। ओलम्पिकमा कराते समावेश पहिलो पटक गरिएको हो। यसमै च्याम्पियन बन्ने रहर छ उनको।
उनले हाँस्दै भनिन्, 'छात्रवृत्ति पाएर झन् उत्साहित छु। ओलम्पिकमा गोल्ड आयो भने फेरि भेटौंला नि!'