दक्षिण एसियाली खेलकुद(साग)मा नेपाली पौडिबाज गौरिका सिंह सोमबार चौथो स्वर्णका लागि प्रतिष्पर्धा गर्न पोखरीमा हाम फाल्दा आमा गरिमा राणा छेउमै मुटु थामेर बसेकी थिइन्। गरिमाले छोरी गौरिकामाथि स्वर्ण जित्न थपिएको दबाब नजिकबाट नियालेकी थिइन्।
जब गौरिकाले स्वर्ण जितिन्, गरिमा खुसीले चिच्याइन्।
'म धेरै खुसी छु', गरिमाले सेतोपाटीसँग भनिन्, 'मिडियामा आएका समाचारले ठूलो आशा सिर्जना गर्दा दबाब थियो। उसले पनि नेपालका लागि स्वर्ण नै चाहेकी थिइन्। नेपालको आशा पूरा गरिन्, इच्छा पूरा गरिदिइन्।’
गौरिकामाथि स्वर्ण जित्ने दबाब कतिसम्म थियो भने समर्थकले हुटिङ गरिरहँदा समेत उनले आँखा खोल्न सकेकी थिइन्।
'भीडबाट समर्थनको आवाज आइरहेको थियो। हेर्नै डर लाग्यो, म जितेँ कि उ(भारत-शिवाङ्गी शर्मा) जित्यो', गौरिका भन्छिन्, 'निकै सानो अन्तर थियो।’
गौरिकाले सोमबार सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेकी हुन्। उनले ५८.१३ सेकेण्डमा पौडिइन् भने भारतीय खेलाडी सिभांगी शर्माले ५८.१५ सेकेण्डमा दूरी पार गरिन्।
गौरिकाले यसअघि नै २ सय मिटर फ्रिस्टायलय,२ सय मिटर ब्याकस्ट्रोक र ४ सय मिटर फ्रिस्टयाल तर्फ पनि स्वर्ण जितिसकेकी थिइन्।
छोरी गौरिका प्रतिष्पर्धामा अठोट साथ प्रस्तुत भएकै कारण जीत हात पार्न सफल भएको गरिमाको ठम्याइ छ। 'उसको अठोट र नेपाललाई प्रतिनिधित्व गरेर शान बढाउने इच्छाले जीत दिलाउन सहयोग गरेको छ', गरिमा भन्छिन्।
त्यसो त गौरिकालाई पनि जितेका चार स्वर्ण मध्ये चौथो स्वर्ण नै सबैभन्दा प्यारो छ।
'स्वर्ण पाउने/नपाउने थाहा थिएन', गौरिका भन्छिन्, 'तर आज जितेको स्वर्ण मेरो चार मध्ये सबैभन्दा उत्कृष्ट लाग्यो।’
चौथो स्वर्णसँगै गौरिकाले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने नेपाली तेक्वान्दो खेलाडी दीपक बिष्टसँग रेकर्ड बराबरी गर्न सफल भइन्। दीपकले चार सागमा खेलेर ४ वटा स्वर्ण जितेका थिए। तर गौरिकाले बराबरी मात्र होइन एउटै सागमा चार स्वर्ण जितेर नयाँ रेकर्ड बनाइसकेकी छिन्। गौरिकाले जति पनि प्रतिष्पर्धामा भाग लिइन् नेपाललाई उनले मेडल दिलाइन्।
उनले व्यक्तिगत चार स्वर्ण जित्दा नेपाली खेलाडीहरुहरुले टिम स्पर्धातर्फ तीन कास्य जितेको छ। ८ सय मिटर फ्रिस्टायल रिले, चार सय मिटर फ्रिस्टायल रिलेसँगै, नेपालले मिडले रिले ४ सय मिटरमा पनि पदक जितेको छ।
५० मिटर र सय मिटर ब्याकस्ट्रोमा भने उनले रजत जितेकी छिन्। जससँगै उनले १३औं सागमा ९ पदक हात पारिन्।
'हामीले गौरिकालाई रेकर्ड बनाउन तयार पारेको होइन', आमा गरिमा भनिन्, 'उसको व्यक्तिगत प्रदर्शनमा ध्यान दियौँ। हामीलाई उसले आफ्नो उत्कृष्ट प्रदर्शन गरोस् भन्ने मात्र थियो।’
सागका लागि गौरिकाको परिवारले बेलायतमा उनलाई आवश्यक तालिम दिएको थियो। 'यो वर्ष नयाँ कोच राखेर तालिम गर्यौँ', गौरिकाले भनिन्, 'थाहा थिएन चार स्वर्ण आउँछ भनेर।'
उनले आफूलाई आएको समर्थनले खुसी तुल्याएको बताइन्।
गौरिकाको जितमा उनको परिवारको ठूलो साथ छ। बुबा पारस सिंह र आमा राणा हरेक प्रतिष्पर्धामा उनको हौसला बढाउन पुग्ने गरेका छन्।
'मेरो परिवारले मलाई हरेक विहान स्वमिङ लगेर स्कुल लैजान्छ', गौरिका भन्छिन्, 'आमाले खाना बनाउँछिन्। अनि मलाई आफैँ गाडी हाँकेर पौडी खेल्ने ठाँउमा लैजान्छिन्।’
गौरिकाका बुवा पारस सिंह छोरीसँग स्वर्णको आशा भएपनि चार स्वर्णको आशा नगरेको बताउँछन्।
'स्वर्ण जित्छ भन्ने थियो। तर के के मा जित्ला भन्ने थाहा थिएन', पारसले सेतोपाटीसँग भने, 'हामीले केही इभेन्ट कट गर्यौँ। हामीले चिताए जस्तै रिजल्ट आयो।’
पारसलाई छोरीले कतिपय खेलमा आफ्नो समय सुधारेकोमा खुसी मिलेको छ। त्यो भन्दा धेरै भारतका राष्ट्रिय स्तरका खेलाडीलाई छोरीले हराउँदा लागेको छ।
'सोचेको जस्तै प्रदर्शन गर्यो', पारसले भने, 'भारतले सबै राष्ट्रिय विजेताहरुलाई पठाएको थियो। उनीहरुलाई हराउनु ठूलो उपलब्धि हो।’
छोरीलाई राष्ट्रका तर्फबाट प्रोत्साहन भए आगामी दिनमा थप राम्रो गर्ने आशा पारसको छ।
गौरिका भने अब ओलम्पिकका लागि तयारी गर्ने मुडमा छिन्। 'म भविष्यबारे बताउन सक्दिन। पहिला त मैले ओलम्पिकका लागि छनोट हुनुपर्ने छ। नौ महिनाको समय छ', गौरिकाले भनिन्, 'ओलम्पिकमा छनौटका लागि तयारी गर्नुपर्छ।’
सागको तयारीमा लागेपछि आफूले तारेको आलु समेत नखाएको गौरिकाले सुनाइन्। 'आलु तारेको एक महिना खान पाइन', गौरिका भन्छिन्, 'अब घर गएर त्यो मात्रै खाने।'
सातदोबाटोस्थित स्विमिङ पुलबाट निस्कदैँ गर्दा गौरिकाको काँधमा ४ स्वर्ण, २ रजत र ३ कास्य झुण्डिएका थिए।
'यो सबै आउँछ भन्ने थाहा थिएन', गौरिकाले भनिन्, 'मेडल गह्रौँ छ।’