जुडो खेलाडी देविका खड्काको बच्चैदेखि एउटै सपना थियो- नेपालको प्रतिनिधित्व गर्दै दक्षिण एसियाली खेलकुद (साग) खेल्ने।
कलिलैमा उनले देखेको त्यो सपना भने तीन दशक पार गर्न लाग्दा पूरा हुँदै थियो।
घरेलु मैदानमा आयोजना हुने १३ औं सागका लागि ५२ केजी तौल समूहमा देविका छानिएकी थिइन्।
सागका लागि छनोट भएर जन्मथलो झापा पुग्दा उनकी आमा खुसी देखिनन्। दशैंको छुट्टीमा घर पुगेकी २९ वर्षीया देविकालाई आमाले भनेकी थिइन्,'छोरी कति खेल्छौं। अब खेल्न छाडिदेऊ।'
वर्षौंपछि पूरा हुँदै गरेको आफ्नो सपना देविकाले त्यतिकै त्याग्ने कुरा थिएन। ‘होइन ममी, यसपटक मैले जसरी पनि खेल्नुपर्छ। तपाईं पीर नलिनु,’ देविकाले आमालाई सम्झाएकी थिइन्।
आमाले उनको कुरा सुनेर मुख बिगारेको देविकालाई अझै याद छ।
'छोरी मान्छेका लागि खेल्न गाह्रो हुन्छ भन्ने आमालाई लागेको थियो। अझ घाइते भएर शरीर बिग्रियो भने छोरीको भविष्य बिग्रिएला भन्ने आमालाई पीर थियो,' देविकाले भनिन्।
आमालाई सम्झाएर काठमाडौं फर्किएकी देविकालाई १३औं सागमा राम्रो प्रदर्शन गर्ने जिम्मेवारी थपिएको थियो।
'यसपटक मैले जसरी पनि पदक ल्याउनुपर्छ सोचेको थिएँ,' उनले भनिन्।
उनको यो दृढता आइतबार पूरा भयो। जुडोको ५२ केजी तौल समूहमा उनले स्वर्ण जितिन्। नेपालका लागि ४५औं र जुडोका लागि पहिलो स्वर्ण जितेपछि उनको आँशु थामिएन। जब बंगलादेशी खेलाडीलाई पराजित गरेर स्वर्ण जितिन् खुसीले उफ्रिइन र प्रशिक्षक देबु खड्काको अगाँलोमा बाधिइन्।
'त्यो मेरो खुसीको आँशु थियो, आज मेरो लक्ष्य पूरा भएको छ,' उनले भनिन्।
उनले स्वर्ण जितेको खबर दिदीबहिनीले आमालाई सुनाइदिए।
'छोरीलाई केही हुन्छ कि भनेर नखेल भन्नुभएकी मेरी आमालाई मैले स्वर्ण जितेको खबर सुनेपछि कस्तो भयो होला!' उनले भनिन्।
२०५३ सालमा ७ वर्षको उमेरदेखि उनले जुडो खेल्न थालेकी हुन्। उनलाई झापाका जुडो प्रशिक्षकहरू हरि श्रेष्ठ र गंगाबहादुर खड्काले प्रशिक्षण दिएका थिए।
गंगाबहादुर देविकाकी काका हुन्। गंगाबहादुरले छोरीलाई जुडो सिकाएको उनकी आमालाई त्यतिबेला नै मन परेको थिएन।
'आमाले छोरी मान्छे खेलमा लाग्दा पछि समस्या हुन्छ कि भनेर काकालाई नसिकाउन भन्नुहुन्थ्यो। काकाले आमालाई चिन्ता नलिन भन्नुहुन्थ्यो। एकदिन छोरीले राम्रो गर्छे भनेर आमालाई सम्झाउनुहुन्थ्यो,' उनले भनिन्।
सानैदेखि जुडो सिकेकी देविकाले २०६५ को पाँचौ राष्ट्रिय खेलकुददेखि राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिन थालेकी थिइन्।
त्यसपछि उनी सशस्त्र प्रहरी बलमा भर्ना भइन्।
'खेललाई निरन्तरता दिन कुनै विभागमा भर्ना नभइ नसकिने अवस्था छ। विभागमा भर्ना भएपछि त्यहिअनुसारको तालिम हुने र सुविधा पनि पाइने भएकाले सशस्त्र रोजेकी हुँ,' उनले भनिन्।
पाँचौ राष्ट्रिय खेलकुदमा दोस्रो भएकी देविका छैटौंमा तेस्रोमा सीमित बनिन्। त्यसपछि भने उनले राष्ट्रिय प्रतियोगितामा लगातार स्वर्ण जितिरहेकी छिन्।
सन् २०१६ मा भारतमा आयोजना भएको १२औं सागमा उनी छनोट हुन सकिनन्। अन्तिम प्रतिस्पर्धामा पराजित हुँदा उनको साग खेल्ने धोको अधुरै रहेको थियो।
त्यसैले उनका लागि यसपटको साग महत्वपूर्ण थियो। २०१६ खेल्न नपाएको पीडा यसपटक खेलेर मात्र होइन जितेरै देखाउने लक्ष्य बनाएकी थिइन्।
जुडोको प्रतिस्पर्धा सुरु हुनअघि सबै खेलाडीको तौल मापन लगायतका परिक्षण हुन्छ। उनले शनिबार आफ्नो परिक्षण गराउने क्रममा आफ्ना प्रतिस्पर्धी खेलाडीहरुलाई देखिन्।
'शनिबार प्रतिस्पर्धीहरूको अनुहार हेरें। उनीहरूको अनुहार पढेपछि जित्न सक्छु भन्ने आँट पलाएको थियो,' उनले भनिन्।
नेपालका लागि स्वर्ण जिताएकी देविकाको अब ओलम्पिक खेल्ने लक्ष्य छ।