१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको फाइनल खेलमा प्रतिद्वन्द्वी भारतलाई ३०–२९ गोल गर्दै पाकिस्तानले सागमा दोस्रो स्वर्ण जितेको हो। भारतले भने उपविजेता बन्दै रजत पदक जितेको छ।
बंगलादेशमा भएको ११ औं सागबाट समावेश भएको ह्याण्डबलमा पाकिस्तानले पुरुषतर्फको पहिलो स्वर्ण जितेको थियो। भारतकै गुहावटीमा भएको १२ औं सागमा भने भारतले स्वर्ण जितेको थियो। पाकिस्तान उपविजेता बन्दै रजत पदकमा सीमित बनेको थियो।
विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए। हजरत हुसेनले टोलीका लागि ५ गोल थपे। इमरान खानले टोलीका लागि ४ गोल जोडे। असिम सइद र मोहम्मद जुबेरले समान ३/३ गोलको योगदान गरे। नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २÷२ गोलको थपे। नामिद उर रहमान र असिफ हायातले समान १/१ गोल गरे।
भारतका नविन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए। दिपक अहलावत, अंकित र रमेश चन्दले समान ५/५ गोल जोडे। दिनेशले टोलीका लागि ४ गोल जोडे। करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १/१ गोल थपे।
श्रीलंकालाई कास्य पदक
१३ औं साग खेलकुद अन्तर्गत पुरुष ह्याण्डबल तर्फ श्रीलंकाले कास्य पदक जितेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा भएको पुरुष ह्याण्डबलतर्फको तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले बंगलादेशमाथि २६–२३ गोलको नतिजा निकाल्दै कास्य पदक जितेको हो।
प्रतिस्पर्धात्मक खेलमा खेलको ६ मिनेटमा नवरथ्ना मुदियान्सेलागेले श्रीलंकाको लागि गोलको खाता खोलेको थिए । बंगलादेशका लागि भने ताजु हसनले खेलको आठौं मिनेटमा गोलको खाता खेलेका थिए।
शुरुदेखि नै अग्रता बनाएको श्रीलंकाले पहिलो हाफमा १२–११ गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा श्रीलंकाले १४ गोल थप्न सफल बन्यो । त्यस्तै, बंगलादेशले १२ गोल थप्न सफल रह्यो।
श्रीलंकाको तर्फबाट नवरथ्ना मुदियान्सेलागे र प्रभात माडुसले सर्वाधिक ५/५ गोल गरे । बंगलादेशको तर्फबाट भने अवाल रुबोलले सर्वाधिक ५ गोलको योगदान गरे।