तेक्वान्दोबाट नेपाललाई स्वर्ण जिताउन सफल काजल श्रेष्ठको व्यस्तता आगामी दिनमा झनै बढ्नेछ। उनलाई अब एसियन गेम, वर्ल्ड च्याम्पियनसिप र ओलम्पिकको तयारी गर्नुछ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गत मंगलबार ४६ किलोतर्फ तेक्वान्दोबाट २२ वर्षीया काजलले स्वर्ण भित्र्याएकी हुन्। देशका लागि मात्र होइन, काजलको खेल करिअरमा पनि यो सबभन्दा महत्वपूर्ण पदक हो।
फाइनलमा काजलको खेल निकै रोचक बन्यो। उनको भिडन्त आफूभन्दा निकै अग्ली पाकिस्तानी खेलाडी सयेद जादी सिद्र बातूलसँग भएको थियो।
'तेक्वान्दोमा विपक्षी खेलाडीको एक इन्च उचाइ पनि निकै महत्व हुन्छ,' शुक्रबारको भेटमा उनले भनिन्, 'बातूल त मभन्दा पाँच इन्च अग्ली थिइन्। उनका खुट्टा पनि लामा। मेरो टाउकोमा सजिलै लाग्ने थियो।'
सेमी फाइनलमा भारतलाई जितेपछि उनको आत्मबल बढेको थियो रे। पाकिस्तानलाई पनि जित्छु भन्ने जोश थियो नै।
'फाइनलमा खेलाडी देखिसकेपछि त डर पनि लाग्यो,' उनले थपिन्।
टाउकोमा किक हान्दा सबभन्दा धेरै ३ अंक आउँछ। बातूलको खेल्ने विशेषता थाहा पाएपछि काजल उनका अन्य खेल हेर्न थालिन्।
धेरैजसो खेलमा बातूलको हेड किक राम्रो देखियो।
काजलले पनि रणनीति बनाइन्– उसको हेड किक ब्लक गर्छु। र, सकेसम्म उसले मौका नपाउने गरी छिटो खेल्छु।
खेलमा काजलले त्यसै गरिन्।
'खेल्दा पनि पहिले उसको हेड किक ब्लक गरेँ र तत्काल काउन्टर दिएँ,' प्रशन्न देखिएकी काजलले भनिन्, 'अन्तिममा आइपुग्दा किकको गति पनि बढाएँ। सोचेभन्दा छिटै अंक बढेछ।'
योजनाअनुरूप २–२ मिनेट चल्ने तीन राउन्डको प्रतिस्पर्धामा काजल अब्बल ठहरिन्। अन्तिम राउन्ड पुग्दा काजलको प्रत्येक किक बातूललाई महँगो सावित भयो। २ मिनेटमा १३–४ को फराकिलो अन्तरमा उनको ५० अंक पूरा भयो। र स्वर्ण निश्चित भयो।
जुनियर टिममा हुँदा उनले एउटा गेम खेलेकी थिइन्। त्यो गेम जित्दा काठमाडौं छनौट राउन्डमा पुग्न सक्थिन् उनी। तर हार भयो। त्यो हार सैह्य भएन।
'खेल सुरू गरेको दुई महिना मात्र भएको थियो। तर अरूको पिटाइ खान त कहाँ मजा हुँदो रहेछ र,' हारेको क्षण सम्झिँदै उनले भनिन्, 'अर्को गेममा त्यही मान्छेलाई पिटेर जित्छु भन्ने इगो आयो। तालिम पनि कडा गर्न थालेँ।'
त्यसपछाडिका खेल राम्रा त भए तर हार्ने क्रम रोकिएन। उनी जुनियर टिममै थिइन्, राष्ट्रिय छनौट हुने भयो। त्यति बेला पनि उनी फाइनलमा पुगेपछि १ अंकले हारिन्।
बारम्बार हार व्यहोर्दा इख पनि बढ्दै गयो। जुनियरमा च्यम्पियन थिइन् तर सिनियरमा गाह्रो भइरहेको थियो।
'एक दिन त फाइनलमा जसरी पनि जित्छु जस्तो लागेको थियो,' उनले हाँस्दै भनिन्, 'जित्न त जितेँ, एकैपटक स्वर्ण नै आउने गरी जितेछु।'
भक्तपुर बस्दै आएकी काजलले स्वर्णीम सपना पूरा भएको खबर सबभन्दा पहिले बुवालाई पठाइन्। तर साउदीमा ड्राइभिङ गर्दै आएका काजलका बुवा अनलाइन थिएनन्।
'बुवा ड्यूटीमा हुनुहुन्थ्यो, लाइभ हेर्न पाउनुभएनछ,' उनले भनिन्, 'होटल आउनेबित्तिकै म्यासेज गरेँ। देशको लागि राम्रो गर्यौ भनेर बुवाले धेरै धन्यवाद दिनुभयो।'
काजलमा तेक्वान्दो मोह १३ वर्षकी हुँदै आएको हो। जडिबुटीमा कोटेश्वर तेक्वान्दो डोजाङ थियो। प्रशिक्षण केन्द्रमा हरेक दिन सेता ड्रेस लगाएका केटाकेटी जोसिलो आवाजमा खेल प्रयास गर्थे। नजिकै घर भएकी काजललाई पनि त्यो समूहिक आवाजले तान्यो। उनी हरेक दिन उनीहरूको क्रियाकलाप हेर्न थालिन्। किक हानेको दृश्य अझै रोमाञ्चित देखिन्थ्यो।
'घरको कौसीबाट तालिम देखिने। आवाज पनि जोसिलो सुनिन्थ्यो। ऊर्जा भरिए जस्तो लाग्ने,' काजलले तेक्वान्दो प्रवेश गर्नुको कारण सुनाइन्, 'निकै रमाइलो लाग्यो। मैले त्यस्तै आवाजमा किक हान्न थालेँ भने के होला भन्ने जिज्ञासा बढ्यो। अनि घरमा भनेँ।'
बुवा त त्यति बेलादेखि नै साउदीमा थिए। तेक्वान्दो खेल्न मन लागेको कुरा आमालाई भनिन्। तर आमाबाट सिधै अस्वीकृत भयो। तर काजलले अड्डी नै कसिन्। तेक्वान्दो खेल्न जान जिद्दी गर्दै खाना खानै छोडिदिएकी थिइन् रे।
'परिवारमा कसैले नगरेको काम गर्छु भन्दा ममीले अचम्म मान्नु भएको रहेछ,' उनले भनिन्, 'छोरीले पिटाइ खाएर आउली भन्ने पो डर रहेछ। पछि मान्नुभयो।'
सुरूसुरूमा तेक्वान्दो सिक्न जाँदा छिमेकीले समेत कुरा गरेका रहेछन्- छोरीमान्छे भएर के के सिकेको होला!
'पहिले त छिमेकीले राती आठ बजेसम्म के काम हुन्छ समेत भन्न भ्याउँथे,' उनी अचम्म मान्दै सुनाउँछिन्, 'पछि पछि भन्न छाडे। सायद सफलताले मुख बन्द गरिदिँदो रहेछ।'
तेक्वान्दोका नीति, नियम र तरिका थाहा भएपछि आफ्नो ज्ञान र क्षमता उनले दिदीसँग पनि बाँडेको बताउँछिन्।
भन्छिन्, 'नेपालमा महिलाले सेल्फ डिफेन्स जान्नु अति नै आवश्यक रहेछ। मैले दिदीलाई पनि डिफेन्स टेक्निक सिकाएँ। कहिलेकाहीँ अरू साथिलाई पनि निउँ खोज्छौ भन्दै जिस्काएँ।'
काजल मलेसिया, ताइवान, भारत र चीन पुगेर पनि खेलिसकेकी छन्। प्रतियोगिताका लागि घर छोडेर धादिङसम्म जानुपर्दा तालिम हलमै पुगेर सोधी खोजी गर्ने आमालाई पनि विश्वास दिलाएकी छिन्।
भन्छिन् 'अहिले त ममीलाई सबभन्दा धेरै खुसी लागेको छ। बाहिर जानुपर्दा पनि राम्ररी जाऊ, ख्याल गर भन्नुहुन्छ।'
तेक्वान्दो मा अब्बल सावित भएकी काजल पढाइमा पनि अब्बल नै थिइन्। तर खेललाई समय दिनु पर्दा पढाइ पछि परेको उनको गुनासो छ। क्याम्पमा जानु पर्दा राम्ररी पढ्ने वातावरण भएन। यसैले एसएलसीमा सोचेजस्तो नतिजा नआएको दुखेसो छ।
'स्कुलमा सधैं प्रथम हुन्थेँ। एसएलसी बेला जुनियर वर्ल्ड च्याम्पियनसिपमा थिएँ। विशिष्ट श्रेणी नआएर दुःख लागेको थियो,' काजल सुनाउँछिन्।
प्लसटुसम्म जसोतसो पूरा गरेकी काजलको बाँकी समय खेलमै समर्पित छ।
भन्छिन्, 'दुवैतिर व्यालेन्स गर्न गाह्रो हुने रहेछ। पढाइ सम्झिएको भए फाइनलमा यसपालि पनि जित नहुन सक्थ्यो।'