१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको आर्चरी खेलको र्याङकिङ राउण्डमा नेपालले कमजोर प्रर्दशन गरेको छ।
नेपाल सहित ४ देशबीच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्पर्धामा नेपालको प्रदर्शन कमजोर रह्यो।
एकल तथा महिला पुरुष तर्फका सहभागी खेलाडीहरुले ७२ एरो प्रहार गरे। एकल विधातर्फ नेपाली खेलाडी अन्तिम स्थानमा रहेका छन्। आर्चरीमा भारत प्रमुख दाबेदार टिम मानिए पनि भारत सहित पाकिस्तान सहभागी नहुँदा र्याकिङ राउण्डमा बंगलादेश पदकको दाबेदारीको रुपमा प्रस्तुत भएको छ।
ओलम्पिक खेलमा छनौट भएका खेलाडीहरु बंगलादेशका सना मोहमत रुमन र भुटानकी कर्मा समेत प्रतियोगितामा सहभागी छन्।
रिकर्भ पुरुष तर्फ बंगलादेशका सना मोहम्मद रुमन र महिला तर्फ बंगलादेशकै खातुम इति र्याङकिङ राउण्डमा अग्रस्थानमा रहेका छन्। र्याङकिङ राउण्डमा ७ सय २० पूर्णाङ्क रहेको खेलमा ७२ एरो प्रहार गर्दा रुमनले ६ सय ८६ अंक जोडे। सोही इभेण्टमा महिला तर्फ खातुमले ६ सय ३२ अंक जोडिन्।
रिकर्भ पुरुष तर्फ भुटानका छिरिङ किनलेले ६ सय ६१ अंक जोड्दै दोस्रो स्थानमा रहे भने श्रीलंकाका सजिव डिसिल्वाले ६ सय ६० अंक ल्याउदै तेस्रो स्थानमा रहन सफल भए।
त्यस्तै सोही इभेण्टको महिला तर्फ बंगलादेशकी मोनिरा माहानाज अफ्तर ६ सय २५ अंकका साथ दोस्रो स्थानमा रहन सफल भइन् भने भुटानकी डेमा सोनमले ६ सय २४ अंक बटुल्दै तेस्रो स्थान बनाइन्।
त्यसैगरी कम्पाउण्ड पुरुष तर्फको खेलमा भुटानका दोर्जी ताण्डिनले अग्र स्थान हासिल गर्दा सोही इभेन्टमा महिला तर्फ भने बंगलादेशकी बानिक सुस्मिता अग्र स्थानमा रहन सफल भइन्।
ताण्डिनले र्याङकिङ राउण्डमा ६ सय ९६ अंक जोड्न सफल भए भने सुस्मिताले ६ सय ८५ अंक जोड्न सफल भइन्। त्यस्तै कम्पाउण्ड पुरुष तर्फ बंगलादेशका राना सोहेलले ६ सय ९० अंक ल्याउँदै दोस्रो स्थानमा रहे भने बंगलादेशकै आसिम कुमारदासले ६ सय ८८ अंक ल्याउँदै तेस्रो स्थानमा रहे।
महिला तर्फको सोही इभेन्टमा बंगलादेशकी सुमा विश्वासले ६ सय ४२ अंक ल्याउँदै दोस्रो स्थानमा रहिन्। श्रीलंकाकी दमयन्ती टक्सिला ६ सय ४५ अंकका साथ तेश्रो स्थानमा रहन सफल भइन्।
शनिबार देखि टिम तर्फ सेमिफाइनलका खेलहरु र एकल तर्फ भने क्वाटरफाइनलका खेलहरु हुने भएको नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए। नेपाली टिमका प्रशिक्षक बसन्त थकालीले प्रतियोगिता सुरु हुनु एक हप्ता अघिमात्र खेल सामग्रि आएकोले आफुहरुको खेल प्रर्दशन कमजोर हुन गएको स्वीकार गरे।
शुक्रबार भएको र्याङकिङ राउण्डका आधारमा टिम तथा एकल तर्फका देश तथा खेलाडीहरुको प्रतिस्पर्धा हुने भएको छ।
पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भए पछि बिहीबार उक्त खेलको उद्घाटन सहित अभ्यास खेल सुरु भएको थियो। उक्त खेल मंसिर २३ गतेसम्म चल्नेछ।