१३ औँ दक्षिणएसियाली खेलकुद सागअन्तर्गतको महिला क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना तुहिएको छ।
शुक्रबार श्रीलंकाको टोलीसँग पराजितभएसँगै स्वर्ण जित्ने नेपालको सपना अधुरो रह्यो। पोखरा क्रिकेट रंगशालामा भएको खेलमा ११९ रनको लक्ष्य पछ्याएको नेपालले ७७ रन मात्र बनाउन सक्यो। नेपाल श्रीलंकासँग ४१ रनले पराजित भएको हो।
खेलमा नेपालको सुरुवात नै राम्रो हुन सकेन। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १९ रन बनाए पनि अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका ३ ब्याट्स वुमन खाता नखोली आउट भए।
उपकप्तान सीता राना मगर, इन्दु बर्मा र डली भट्टले खाता खोल्न सकेनन्। ओपनर काजल श्रेष्ठ २१ बल खेल्दै ८ रन मात्र गराउन सकिन्। यस्तै सोनु खड्का १ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भइन्।
नेपालका लागि करुना भण्डारीले १२ रन बनाइन् भने कबिता कुँवरले १३ रन बनाउन सकिन्। अन्तिममा ब्याटिङ गर्न आएका अन्जली चन्द र सरस्वती चौधरीले समान २–२ रन बनाउन सके।
श्रीलंकाका लागि सचिनी निसानसालाले सर्वाधिक ३ विकेट हात पारिन्। यस्तै सत्या सन्दिपानी ले २ विकेट लिँदा माल्सा रनथुँगाले १ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। उसका लागि लिहिनी अप्सराले सर्वाधिक ३७ रन बनाइन्। यस्तै जनधीअमलीले ३५ रन बनाइन्। श्रीलंकाका लागि सत्या सन्दिपानीले २२ रन बनाउँदा हर्सियाले १६ रन बनाउन सकिन्। अरुको प्रदर्शन उल्लेख्य रहन सकेन।
नेपालका लागि सोनु खड्का र सरस्वती चौधरीले समान २–२ विकेट लिए भने अन्जली चन्दले १ विकेट लिइन्। नेपाल आज पराजित भएसँगै नेपालले अब कास्यका लागि माल्दिभ्ससँग भोलि शनिबार खेल्ने भएको छ।