१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार पोखरामा भएको भारोत्तोलनमा सञ्जु चौधरीले स्वर्ण जितिन्। स्वर्ण जितेसँगै उनी सागमा भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्।
स्कुल पढ्दा सञ्जुले भारोत्तोलनमा स्वर्ण जित्छु भन्ने कल्पना पनि गरेकी थिइनन्। उनी त बरू क्रिकेटको बल र ब्याट घुमाउँथिन्। दौडिने पनि उनको सोख थियो।
स्कुलमै पढ्दाताका २०६८ मा क्रिकेट र एथलेटिक्समा राष्ट्रिय प्रतियोगिता खेलिसकेकी उनले त्यतिबेलै स्वर्ण पदक जितिसकेकी थिइन्।
एसईई पास भएपछि उनको स्कुलमात्र बदलिएन खेल पनि परिवर्तन भयो। नेपालगञ्जमा क्याम्पस पढ्न थालेपछि उनी जिमखाना जान थालिन्। जिममा फलामका डल्ला उचाल्दाउचाल्दै उनलाई आफू बलियो हुँदै गएको महशुस भयो। राम्ररी जिम गर्ने सञ्जुलाई नेपालगञ्जका भारत्तोलन प्रशिक्षक सकिल अमद हलवाईले भारत्तोलनमा ल्याए।
सञ्जुका बुवा भेरी अञ्चल अस्पतालका कर्मचारी हुन्। उनी क्वार्टरमै बस्थे। छोरीले पढ्न छोडेर खेलमा मन डुलाएको उनलाई त्यति मन पर्दैनथ्यो। ‘त्यतिबेला खेलकुदमा लाग्दा बुवाले निकै गाली गर्नुहुन्थ्यो,’ सञ्जुले सेतोपाटीलाई भनिन्, ‘भागेर र लुकेर खेल्न जान्थ्यौं।’ उनी राष्ट्रिय टिममा परिसक्दा पनि प्रशिक्षणमा जाँदा उनले बुवाका आँखा छल्नु पर्थ्यो।
पछि उनी काठमाडौं आइन्। नेपालगञ्ज हुँदा त कम खर्च भए नि हुन्थ्यो। काठमाडौंमा खानादेखि कोठा भाडा सबै व्यहोर्नुपर्थ्यो। खेल र डाइटको खर्च त छँदै छ।
‘धेरै सामान चाहिने घरबाट मात्र पैसा मागेर नपुग्ने,’ उनले भनिन्, ‘गेम खेलेर केही हुँदैन, खेलेर के हुन्छ र? बुवा भन्नुहुन्थ्यो-उल्टो घरबाट पैसा माग्छौ?’
बेलाबेला उनलाई पनि दिक्क लाग्थ्यो। सोच्थिन्- खेलकुद छोडेर अरू नै पेसा व्यवसायमा लागौं कि क्या हो। तर खेलकुदमा उनको मन बसिसकेको थियो चटक्कै बिर्सन सकिनन्।
‘जब राष्ट्रिय प्रतियोगितामा गोल्ड मेडल जितें त्यसपछि बुवा चेञ्ज हुनुभएछ,’ सञ्जुले भनिन्, ‘अहिले त एकदम सपोर्ट गर्नुहुन्छ।’
क्रिकेट र एथलेटिक्समा एक्लैले मात्र राम्रो गरेर नहुने उनको अनुभव छ।
‘ग्रुपमा खेल्दा एकजनाको मेहनतले हुँदैन, टिमले नै मेहनत गर्नुपर्छ, उनले भनिन्, ‘भारोत्तोलनमा एक्लैले राम्रो गर्न सक्छु।’
हुन पनि भारोत्तोलन खेल्न थालेको साढे ३ वर्षमै उनले इतिहास रचिन्। पोखरामा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलन प्रतियोगितामा नेपाललाई पहिलो पटक उनले स्वर्ण पदक दिलाएका हुन्। महिलातर्फ ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबार भएको खेलमा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन्।
प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जितिन्। चार देशले भाग लिएको विधामा पाकिस्तानको पनि सहभागिता थियो।
६ महिना अघि नेपाल पुलिसमा भर्ना भएकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन्। उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको बताइन्।
स्वर्ण जितेसँगै उनले बुवाले फोन गरिन्। भेरी अस्पतालमा ड्युटीमै रहेका बुवालाई के भयो भनेर सोधे, सञ्जुले भनिन्-गोल्ड मेडल जितें।
बुवाले पत्याएनन्।
‘साँच्चिकै आयो त?’ बुवाले सोधे।
सञ्जुले दंग पर्दै दोहोर्याइन्-साँच्चै हो के बुवा।
बुवाले भने, ‘ल ल अझै राम्रो गर्दै जाउ।’
सञ्जुलाई लागेको छ- अब योभन्दा पनि ठूलो प्रतियोगितामा स्वर्ण जित्छु।