बुधबार मंगल थारुको मुहार खुसीले बलेको थियो। सायद उनका लागि बुधबार जीवनकै खुसीको दिन थियो।
घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले स्वर्णका लागि भारतीय खेलाडीसँग भिडन्त पक्का गरेका थिए।
उसु सान्सौअन्तर्गत सान्डा (फाइट) को ६० केजी तौल समूहमा उनले बंगलादेशका खेलाडीलाई हराएका थिए।
बंगलादेशी खेलाडीसँग उनी पहिलो राउन्डमा पराजित भएका थिए। दोस्रो राउन्डमा भने उनी खेलमा फर्किए। बंगलादेशी खेलाडीमाथि हाबी हुँदै खेललाई १–१ को बराबरीमा ल्याए।
घरेलु समर्थकको साथ पाएका उनी तेस्रो राउन्डमा झन् आक्रमक बने। निर्णायक राउन्डमा सजिलै विजयी हुँदा स्वर्ण नजिक पुगेका थिए।
तर उनको यो खुसी आधा घण्टा पनि टिक्न सकेन। उनको देब्रे खुट्टा बेस्सरी दुख्न थाल्यो। तत्काल मेडिकल टिमलाई बोलाएर हेराउदा उनको खुट्टा भाँचिएको देखियो। राति ११ बजे उनको शल्यक्रिया गरियो।
'मैले किक हान्दा उसले ब्लक गर्यो। दर्शकको हुटिङ आइरहेकोले जोश बढिरहेको थियो। यसलाई नकआउट हान्छु भनेर लगातार किक हानेको थिए,' उनले भने,'भाग्य नै यस्तो रहेछ। खुट्टा भाँचिएछ।'
स्वर्णको भोकले उनले आफ्नो खुट्टाको भाँचिएको पनि पत्तो पाएनन्। हारिसकेको खेलको पासा पल्टाउँदै फाइनलमा स्थान बनाए।
राति अप्रेशन गरिएपछि उनको आँशु थमिएन। बर्दियामा रहेका बुबाआमालाई आफू फाइनल खेल्न पाउँदिन भनेर खबर गरे। त्यसपछि मंगलकी आमाको आँशु अझै थामिएको छैन।
'मैले खेल्न नपाउने भन्ने सुनेपछि आमाले अहिलेसम्म खाना पनि खानु भएको छैन,' उनले रुँदै भने।
३२ वर्षीय थारुले उसु खेल्न थालेको ११ वर्ष पुग्यो। उसु खेलबाटै सशस्त्र प्रहरी बलमा भर्ना भएका उनले यसपटकको सागमा जसरी पनि स्वर्ण जित्ने लक्ष्य बनाएका थिए।
'सन् २०१६ मा भारतमा भएको १२ औं सागमा पदक जित्न सकेको थिइन,' उनले भने,'१३औं मा जसरी पनि स्वर्ण ल्याउँछु भनेर मिहिनेत गरेको थिएँ। भाग्य नभएको हो कि रजतमै चित्त बुझाउनु पर्यो।'
उनले स्वर्ण जित्नका लागि निकै मिहिनेत गरेका थिए। यतिसम्म की उनले नवजात छोरीको अनुहार समेत हेर्न पाएका छैनन्।
'छोरीको फोटो मात्र देखेको छु,' थारु भावुक भए,'उनका लागि र देशका लागि स्वर्ण जित्छु भन्ने आसा थियो।' उनकी छोरी जन्मिएको एक महिना पनि पूरा भएको छैन।
बिहीबार उनी आफ्नो प्लास्टर गरिएको खुट्टा लिएर लगनखेलस्थित आर्मी कबर्डहलमा आएका थिए। भाँचिएको खुट्टामा रिङ छिरेका उनलाई 'मेडिकल डिस्क्वालिफाइ' घोषित गरियो। मंगललाई एक किङ नै प्रहार नगरी भारतीय खेलाडीले स्वर्ण जिते।
'मुखमा आएको गाँस खोसिएजस्तै भयो। फाइनलमा पुगेर पनि शरीरले साथ नदिँदा घरेलु दर्शकका अगाडि रजतमै चित्त बुझाउनुपर्यो,' मंगलले खिन्नता प्रकट गरे,'गोल्ड मेडल ल्याउछु भनेर ११ वर्ष गरेको दु:ख त्यसै गयो।'
१३औं सागमा स्वर्ण गुमाएका मंगलले उसुबाट अझै आसा मारिरकेका छैनन्। थप मिहिनेत गरेर अर्को सागमा स्वर्ण जित्ने इख पालेका छन्।
'यसपटक यस्तै भयो,' उनले भने, '१४औं सागमा छनोट भएर खेल्न पाए भने आवश्य पनि स्वर्ण ल्याउन प्रयास गर्नेछु।'