मंगलबार पोखरा रंगशालामा नेपालसँग १–० गोलले पाराजित भएपछि श्रीलङ्काली फुटबल टिमका सहायक प्रशिक्षक डिफानी सफरसिन्हाले भनिन्, ‘पोखराको फुटबल मैदानको स्तर राम्रो लागेन।’
अभ्यास गरेको मैदान भन्दा प्रतियोगिता संचालन भएको मैदान नराम्रो भएको भन्दै उनले थपिन् ‘नेपालले छोटो समयमा धेरै काम गर्नुपरेको हुनाले मैदानको स्तर खस्किएको होला।’
श्रीलङ्काली महिला फुटबलका सहायक प्रशिक्षक डिफानीले भनेजस्तो साग खेलकुदका लागि पुर्वाधार बनाउन नेपाललाई समय अभाव भएको भने होइन। नेपालमा साग प्रतियोगिता आयोजना गर्ने निर्णय दुई वर्ष अघि नै भइसकेको थियो। दुई वर्षअघि भारतमा साग खेलकुदकै क्रममा यो निर्णय भइसकेको थियो।
यस्तै, नेपालले सागको तयारी नपुगेको भन्दै दुई पटक मिति सारेको थियो। यतिका समयमा पनि नेपालले पुर्वाधार बनाउनेतर्फ कुनै प्रयास गरेन। अन्तिम समयमा आइसकेपछि साग खेलकुद प्रतियोगिता आयोजना गर्ने भनिएका ठाउँमा निर्माणका काम अघि बढाइए, दिनरात काम गरियो।
तर पनि हतारोको काम गुणस्तरीय भएन। पोखरा रंगशालाको फुटबल मैदानमा २ असोजमा पहिलो पटक दुबो राखिएको थियो। त्यसपछि दुई पटकसम्म दुबो मरेपछि नयाँ दुबो राखियो। तर मैदानमा दुबो राम्रोसँग सेट भएन, विदेशी खेलाडीले प्रश्न गर्ने ठाउँ पाए।
त्यसो त नेपाल र श्रीलङ्काबीच मंगलबार भएको खेलमा मैदानका कारण खेलाडीलाई बल कन्ट्रोल गर्न समस्या परेको नेपाली टिमका प्रशिक्षक हरि खड्का स्वीकार्छन्। उनले विहिबार भने मैदान सोचे भन्दा राम्रो भएको प्रतिक्रिया दिए।
रंगशालामा फुटबल मैदानको वरपर एथलेटिक सिन्थटिक ट्रयाक निर्माणाधीन छ। रंगशाला बाहिर निर्माण गर्न लागिएको यो ट्रयाकलाई पर्दाले छोपिएको छ। रंगशाला छिरेपछि देखिने यो दृश्यले भित्र केही भए जस्तो अनुभुति हुन्छ। तर ढुङ्गा र माटो खनेर छोडिएको भाग छोपिएको पर्दा खोल्दा देखिन्छ।
फुटबल मैदानको दक्षिणतर्फ शौचालय र खेलाडीको कपडा फेर्ने ठाउँ चेन्जिङ रुम पनि अहिले निर्माणाधीन छ। साग खेल सकिन लाग्दा समेत अहिलेसम्म उक्त संरचना बनिसकेको छैन।
फुटबल मैदानकै दक्षिणतर्फ अभ्यास मैदान निर्माणाधीन छ। यसको पछाडि दर्शक तथा आगन्तुकका लागि शौचालय बनिरहेको छ। साग खेलकुदका लागि आएका विदेशी खेलाडी र पदाधिकारीले शौच गर्नका लागि शौचालय समेत पाउन मुस्किल परेको छ। बुधबार साँझ एक भारतीय पदाधिकारी शौचालय खोज्दा खोज्दै हैरान परेको गुनासो गरे।
फुटबल मैदान, प्यारापिट, एथलेटिक सिन्थटिक ट्रयाक लगायतका संरचना बनाउन राष्ट्रिय खेलकुद परिषदले १ अर्ब २८ करोड बजेट विनियोजन गरेर ठेक्का दिएको थियो। ठेकेदार कम्पनी एम ए कन्स्ट्रक्सन र भारतीय ग्रेट स्पोर्ट्स इन्फ्राले तीन महिनामा सक्ने गरी गत फागुनमा ठेक्का पाएका थिए।
तर उनीहरुले साग खेलकुद नजिकिँदा समेत योजना पुरा गर्न कुनै तत्परता देखाएनन्। जब हप्ता दिन बाँकी थियो, त्यसपछि उनीहरु तातिए। ४ दिनमै १० हजार दर्शक अट्ने प्यारापिट बनाए। प्यारापिटको गुणस्तर पनि उपयुक्त नभएको खेलकुद परिषदका पदाधिकारी बताउँछन्।
‘ठेकेदारले समयमा काम गरिदिएको भए अहिले एथलेटिक सिन्थटिक ट्रयाक छोप्न पर्थेन, आफ्नो नाम उल्लेख नगर्न भन्दै उनले भने, ‘अन्तिम अवस्थामा आएर दिनरात काम गरेर जसोतसो साग हुने बनाइयो।’
यस्तै, फुटबलको अभ्यास मैदान बनाउन ९० लाख बजेटमा काम भइरहेको छ। तर अहिलेसम्म यो मैदान तयार छैन। क्रिकेट मैदानको हालत पनि उस्तै छ। क्रिकेट मैदानमा शौचालय बनाउन नभ्याएको भन्दै अहिले ‘मोबाइल शौचालय’को व्यवस्था मिलाइएको छ।
क्रिकेट मैदानमा स्थायी प्यारापिट बनाउन नभ्याएपछि अस्थायी प्यारापिट राखिएको छ। क्रिकेटका लागि आवश्यक सामान राख्ने ठाउँ पनि नभएको स्वयं खेलाडीहरु बताउँछन्।
पोखरा रंगशाला बनाउनका लागि नियमित विनियोजित बजेटको काम तोकिएको समयमै पुरा भएको भए अहिले कसैले प्रश्न उठाउने ठाउँ रहने थिएन। यतातिर कसैको ध्यान पुगेको देखिँदैन।
यता, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीले भने साग आयोजना गर्न सक्नु नै उपलब्धी मानेका छन्। पोखरामा साग उद्घाटन समारोहमा आएका राखेपका सदस्य सचिव रमेश कुमार शिलवालले भने, ‘अघिल्ला पदाधिकारीले आयोजना गर्न सकेनन्, म आएपछि साग खेलकुद प्रतियोगिता संचालन गर्न सक्यौं।’
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष लक्षमण प्रसाद योगीले अन्तिम समयमा मात्र तात्ने बानीले यसपटक साग लक्षित पुर्वाधारमा पनि समस्या परेको बताउँछन्।
पोखरा रंगशालामा साग लक्षित पुर्वाधार बनाउन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले ७ करोड १९ लाख रुपैयाँ प्रस्ताव गरेको थियो। तर युवा तथा खेलकुद मन्त्रालयले भने २ करोड ५७ लाख ५० हजार मात्र बजेट पठाएको उनले बताए। ‘अहिले पनि पुर्वाधारका काम भइरहेको छ उनले भने, बाँकी बजेट विल उठाएर माग गर्छौं’ उनले भने।