करातेमा लागेको २५ वर्षसम्म मण्डेकाजी श्रेष्ठले मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता भाग लिन पाएका थिएनन्।
दक्षिण एसियाली खेलकुद (साग) खेल्ने उनको ठूलो धोको थियो।
बैशाखमा दाङको तुलसीपुरमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत काता (कला प्रदर्शन)मा स्वर्ण जितेपछि मण्डेकाजी १३औं सागमा छनोट भए।
मानौँ उनलाई स्वर्णको दाउ नै लागेको थियो,सागमा पनि स्वर्ण हात पारेका छन्। सोमबार भएको खेलमा नेपालका तर्फबाट उनले नै स्वर्णको खाता खोलेका हुन्।
वैशाखमा भेट्दा उनी सागमा खेल्न निकै उत्साहित देखिन्थे। मण्डेले सोमबार उत्साहलाई जितमा बदले।
उनले व्यक्तिगत र टिम कातामा गरी २ स्वर्ण जिते। देशका लागि पहिलो स्वर्ण जितेका मण्डेले आफ्नो लक्ष्य पूरा भएको बताएका छन्।
नेपालले करातेको व्यक्तिगत कातामा २० वर्षपछि स्वर्ण जितेको हो।
'२० वर्षपछि कातामा स्वर्ण जितेर इतिहास बनाएको छु,' उनले भने,'पहिलो स्वर्ण जितेपछि दोस्रो स्वर्ण दिलाएरै छाड्छु भन्ने थियो। भित्रि मनदेखि लागेकाले सफलता पाएँ।'
त्यसबाहेक उनको ६ महिने 'लक्की चार्म' बोकेर श्रीमती उषा तामाङ श्रेष्ठ खेल हेर्न सातदोबाटोस्थित कराते कबर्ड हल आएकी थिइन्।
आफ्नो बच्चालाई उनी लक्की चार्म मान्दा रहेछन्।
३५ वर्षीय मण्डेकाजीले सागमा स्वर्ण जित्ने सपना पालेको भने ९ वर्ष भयो।
सन् २०१० मा बंगलादेशको ढाकामा भएको एघारौं साग गेम्सका लागि उनी छनोट भएका थिए।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि उनी बैंकक पनि पुगे। तर, त्यतिखेर साग गेम्समा कराते खेलका १५ वटा तौल समूहलाई घटाएर १० वटा तौल समूहबीच मात्र प्रतिस्पर्धा गराउने निर्णय भयो।
जसको मार मण्डेकाजीसहित ५ खेलाडीलाई पर्यो। उनीहरूको तौल समूह काँटिदा प्रतियोगितामा भाग लिनबाट वञ्चित भए। सागमा नेपालको झण्डा फहराउने धोको पूरा नभएको त्यो क्षण मण्डेकाजीले अहिले पनि बिर्सन सकेका छैनन्।
'बैंककमा तयारी गरेर ढाका जाने कुरा भइरहेको थियो। तर, एक्कासी हाम्रो तौल समूह काटिएको कुरा आयो। पछि पदाधिकारीहरुले थप हुने आश्वासन पनि दिए। तर, आश्वासन पूरा भएन। छनोट भएर पनि साग गेम्स खेल्न नपाएको उक्त क्षण अहिलेसम्मकै दु:खद हो,' उनले भने।
९ वर्षअघिको तोड मण्डेकाजीले सोमबार २ स्वर्ण जितेर निकाले।
९ वर्षको उमेरदेखि करातेमा लागेका मण्डेकाजी भने शरीर र भाग्य दुवैले साथ दिएको छ। ३५ वर्षीय मण्डेकाजी करातेमा लागेको २५ वर्ष नाघिसक्यो। यो अवधिमा उनले सफलता र असफलताका थुप्रै परीक्षा दिनुपर्यो।
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेको प्रतिस्पर्धामा स्वर्ण जितेर उनले इतिहास बनाएका थिए। त्यतिखेर तीन फरक राष्ट्रिय प्रतियोगितामा उनले कराँतेका तीन फरक विधामा स्वर्ण जिते।
उनले काठमाडौंमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा ५० केजी तौल समूहको फाइटमा स्वर्ण जिते।
त्यति बेला उनले फाइनलमा सशस्त्र प्रहरीका सुनील लामालाई पराजित गरेका थिए।
मण्डेकाजीले धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण पदक जित्न सफल भएका थिए। त्यतिबेला उनले टिम कातामा स्वर्ण हात पारेका थिए। उनीसहितको त्यतिबेलाको पुलिस टिममा गणेश थिङ, केदार सिंखडा र निरबहादुर मोक्तान थिए।
सातौं राष्ट्रिय खेलकुदमा भने उनी सफल हुन सकेनन्। एकल कातामा उनी पहिलो चरणमै पराजित भए। उनलाई परशुराम बास्तोताले पहिलो चरणमा हराएका थिए। बास्तोलाले पछि स्वर्ण पदक नै जिते।
चार वटा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका मण्डेकाजीले तीन वटा प्रतियोगितामा तीन फरक विधामा स्वर्ण जित्न सफल भए। लामो सयमसम्म करातेमै साधना गर्दा उनले यो सफलता हात पारेका हुन्। त्यसो त उनले बाल्यकालमा पहिलो पटक सिकेकै खेल कराते हो। २०५१ सालमा थिमी डोजोमा उनी भर्ना भएका थिए। कराते यात्राको प्रेरणा भने उनले बुवाबाट पाएका थिए।