दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली फुटबल टिमको प्रदर्शन गर्व गर्न लायक छ।
नेपालले १२ संस्करणमध्ये ५ संस्करणमा फाइनलमा स्थान बनाएको छ।
५ मध्ये नेपालले ३ पटक स्वर्ण चुमेको छ। सन् १९९४ को पहिलो संस्करणमा स्वर्ण जितेको नेपाली फुटबल टिमले १९९३ मा पनि पहिलो स्थान हात पारेको थियो।
सन् २०१६ मा भारतमा भएको १२ औं सागमा नेपालले घरेलु टिम भारतलाई फाइनलमा हराएर साग फुटबलमा २३ वर्षपछि स्वर्ण जितेको थियो। नेपाल १९८७ र १९९९ मा भने फाइनलमा पराजित भएको थियो।
सागमा जितेका ३ स्वर्णमध्ये नेपाली राष्ट्रिय टिमले २ र यु–२३ टिमले एक स्वर्ण जितेका छन्।
सन् २००४ मा पाकिस्तानमा भएको नवौं सागदेखि फुटबलमा यु–२३ टिमबीच प्रतिस्पर्धा हुन थालेको थियो।
घरेलु मैदानमा आइतबारदेखि सुरू हुने १३ औं सागमा नेपालले लगातार दोस्रो स्वर्ण जित्ने लक्ष्य बनाएको छ।
जसका लागि नेपाली टिमले चार महिनादेखि तयार गरिरहेको छ। तयारीका क्रममा नेपालले म्यानमारको यु–२३ टिमसँग अभ्यास खेल खेलेको थियो। जुन खेल २–२ को बराबरीमा सकिएको थियो।
यु–२३ टिममा रहेका खेलाडी सिनियर टिममा पनि रहेकाले त्यसको फाइदा हुने प्रशिक्षक बालगोपाल महर्जन बताउँछन्।
यु–२३ टिममा सिनियर टिममा रहेका ८ जना खेलाडी छन्।
'टिममा रहेका कतिपय खेलाडीले सिनियर टिमबाट विश्वकप छनोटका ५ वटा खेल खेलेका छन्,' सन् १९९३ मा नेपालले साग फुटबलमा स्वर्ण जित्दाका खेलाडी महर्जनले भने, 'अहिले मुख्य चुनौती टिम सेट मिलाउने देखिएको छ।'
सिनियर टिमका खेलाडी र युवा खेलाडीबीच समन्वय बनाउन यु–२३ टिमले त्रिभुवन आर्मीसँग अभ्यास खेल समेत खेलेको छ।
'खेलप्रतिको लगावबाहेक हामी प्राविधिक रूपमा सबल छौं, सेटपिसबाट गर्न सक्नु अर्को बलियो पक्ष हो,' महर्जनले भने।
अर्कोतर्फ दशरथ रंगशालामा ५ वर्षपछि खेल्न पाउँदा खेलाडीहरू उत्साहित छन्।
भूकम्पका कारण क्षतिग्रस्त रंगशालामा सागका लागि तयार भएको हो।
टिममा अनुभवी खेलाडीत्रय विमल घर्तीमगर, अञ्जन विष्ट र दिनेश राजवंशी हुने छैनन्। अनुशासनको कारबाहीमा परेका उनीहरूको सट्टामा राजेश परियार, प्रेजन तामाङ र राजीव लोप्चनले खेल्दैछन्।
'तीन जना खेलाडीको क्षमता आफ्नो ठाँउमा छ। तर अनुशासन भएन भने क्षमताले मात्र काम हुँदैन,' महर्जनले भने, 'उनीहरूको सट्टामा आएका खेलाडी पनि प्रतिभावान छन्, युवा छन्। उनीहरूलाई आफू सक्षम भएको देखाउन एउटा अवसर छ।' यसपटकको सागमा भारत सहभागी छैन। साग गेम्स फिफा वा एएफसीको अन्तर्राष्ट्रिय क्यालेन्डरमा समावेश नहुँदा भारतले व्यवसायिक लिग खेलिरहेका आफ्ना खेलाडीलाई राष्ट्रिय टिममा बोलाउन नसकेको हो।
साग अन्तर्राष्ट्रिय क्यालेन्डरमा समावेश भएको अवस्थामा भने क्लबहरू राष्ट्रिय टिमका लागि खेलाडी छाड्न बाध्य हुन्थे।
भारत नहुँदा साग फुटबल पाँच टिमबीच राउन्ड रोबिनको आधारमा प्रतिस्पर्धा हुनेछ।
शीर्ष २ टिमबीच स्वर्णका लागि भिडन्त हुनेछ। सागमा नेपालसहित बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ।
'सागको सशक्त टिम भारत नै हो। त्यो टिमलाई जित्दा अर्कै महशुस हुन्छ,' महर्जनले भने, 'तर प्रतिस्पर्धामा यो आए राम्रो त्यो नआए नराम्रो भन्ने हुँदैन। जो प्रतिद्वन्द्वी हो उसलाई नै सशक्त मान्नु पर्छ। फुटबलमा सानो–ठूलो प्रतिद्वन्द्वी हुँदैन।'
भारत दक्षिण एसियाको बलियो टिम हो।
साग फुटबलमा भारत ६ पटक फाइनल पुगेको छ। जसमा भारत ३ पटक च्याम्पियन बनेको छ। भारत नहुँदा नेपाल लगायतका टिमका लागि स्वर्ण जित्न केही सहज भने पक्का हुनेछ। जसमा साविक विजेता नेपालले बढी फाइदा उठाउन सक्छ।
'२० वर्षपछि घरेलु भूमिमा साग आयोजना हुँदैछ। त्यसैले घरेलु दर्शकअघि गत संस्करण जस्तै नतिजा निकालेर स्वर्ण जित्ने हाम्रो लक्ष्य हो,' प्रशिक्षक महर्जनले भने।
नेपालको खेल
नेपाल भर्सेस भुटान – मंसिर १७ गते – दिउँसो १ बजे
नेपाल भर्सेस श्रीलंका – मंसिर १८ गते – साँझ ५ बजे
नेपाल भर्सेस माल्दिभ्स – मंसिर २० गते – साँझ ५ बजे
नेपाल भर्सेस बंगलादेश – मंसिर २२ गते – साँझ ५ बजे
नेपाली टिम
गोलकिपर – विकेश कुथु, अर्पण कार्की, दीप कार्की डिफेन्डर – अनन्त तामाङ, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ, राजेश परियार
मिडफिल्डर – सुजल श्रेष्ठ (कप्तान), सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाङ्म्बे, तेज तामाङ
फरवार्ड – राजिव लोप्चन, अभिषेक रिजाल, रेजिन सुब्बा, प्रेजन तामाङ