बिच भलिबलका नेपाली टोली १० दिनदेखि पोखरामा रहेपनि तीन दिनदेखि मात्र बालुवासहितको कोर्टमा अभ्यास गर्न पाएका छन्।
समुन्द्री किनारमा बालुवामाथि खेलिने ‘बिच भलिबल’ दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिता (साग) को १३ औँ श्रृङ्खलामा पहिलो पटक खेलाइँदैछ। प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का र माल्दिभ्स भिड्दैछन्। यी ६ देशबाट महिला र पुरुषको २/२ टिम गरी २४ टिम प्रतियोगितामा सहभागी हुने सुदेश रिमालले जानकारी दिए।
मैदानमा बिच भलिबल प्रतियोगिता संचालन गर्न चारवटा कोर्ट बनाइँदैछ। यसअघि नै नेपाली सेनाले बनाएको एउटा भलिबल कोर्टमा अहिले खेलाडीलाई प्रशिक्षण दिइँदै । बाँकी ३ वटा कोर्ट निर्माणकै चरणमा छन् । चार कोर्ट मध्ये २ वटा कोर्टमा प्रतियोगिता चल्नेछ भने २ वटामा प्रशिक्षण हुनेछ।
प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीले यसअघि श्रीलंका पुगेर १० दिन लामो प्रशिक्षण लिएका थिए । प्रशिक्षणका क्रममा त्यहाँका राष्ट्रिय टिमसँग खेलेका नेपाली टोलीले उपाधीका लागि प्रतिस्पर्धी पनि श्रीलङ्कालाई नै ठानेको छ। प्रशिक्षक सुदेश रिमाल भन्छन्, “हाम्रा लागि पहिलो प्रतिस्पर्धी श्रीलङ्का नै हो, त्यसपछि मात्र भारत।”
श्रीलङ्काबाट प्रशिक्षण लिएर फर्किएपछि नेपाली टोली २९ कात्तिकदेखि पोखरामा। बिच भलिबलका लागि आवश्यक कोर्ट नहुँदा टोलीले इन्डोर भलिबल कोर्टमै प्रशिक्षण लिनुपर्यो। नेपालमा अहिलेसम्म बिच भलिबलका लागि एउटै पनि कोर्ट नभएको प्रशिक्षक रिमालले बताए।
फेवाकिनारमा यसअघि नै रहेको भलिबल कोर्टमा बालुवा हालेपछि “तीन दिनदेखि बल्ल बालुवामा अभ्यास गर्न पाएका छौँ”, रिमालले भने। उनले बालुवा सहितको कोर्ट र इन्डोर कोर्टमा खेलिने भलिबल धेरै फरक हुने बताए।
“बालुवाले राखिएको मैदान सम्म हुँदैन, खुट्टा गड्छ, रिमालले भने, बालुवाले तान्छ, उफ्रिन गाह्रो हुन्छ, मुभमेन्ट नै फरक हुन्छ।” एउटै कोर्टमा महिला र पुरुष टिमलाई पालै पालो प्रशिक्षण दिइरहेका रिमालले प्रतियोगितामा उपाधी जित्नेमा भने आशा देखा ।
इन्डोर भलिबलमा राष्ट्रिय टिमबाट खेलिसकेको खेलाडी भएको, अनुभवी र प्रशिक्षणमा कडा मेहनत गरेकाले पनि उपाधी जित्ने उनको भनाई छ।
बिच भलिबलमा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार तथा सन्जु शाह र राजु विकको जोडी खेल्दैछन् भने महिलातर्फ कोपिला उप्रेती र मनिषा चौधरी तथा नेबिका चौधरी र विनिता बुढाथोकीको जोडी खेल्नेछन्।
प्रशिक्षणकै क्रममा श्रीलङ्काका राष्ट्रिय टोलीसँग खेलिसकेको नेपाली टोलीले त्यतिबेला पराजित हुनुपरेको थियो। प्रशिक्षक रिमाल भन्छन्, “श्रीलङ्काली खेलाडी प्रोफेसनल छन्, धेरै अनुभवी र परिपक्व छन्, तर उपाधी हामीले जित्छौँ ।”
साग अन्तर्गत बिच भलिबल पोखरामा १९ मंसिरदेखि हुँदैछ।