भारतमा सन् २०१६ मा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) नेपालले तेक्वान्दोमा ७ रजत पदकमै चित्त बुझाउनु पर्यो।
सन् १९९९ मा नेपालमा आयोजना भएको सागदेखि नेपालले तेक्वान्दोबाट लगातार स्वर्ण जितेको थियो। आठौंदेखि एघारौं संस्करण सम्ममा २४ स्वर्ण जितेको तेक्वान्दोले १२औं संस्करणमा स्वर्ण दिलाउन सकेन।
पहिलो पटक स्वर्ण जित्न नसक्नुको पीडा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले अझै बिर्सिएका छैनन्।
'भारतमा भएको १२औं सागमा ७ रजत जितेका थियौं। तर के गर्नु तेक्वान्दोमा स्वर्ण पदक ल्याउन सकिएन भने त्यो पदक जस्तो हुँदो रहेनछ,' नेपाली खेलप्रेमीको भावनाबारे श्रेष्ठले भने। श्रेष्ठ यसलाई नेपाली खेलप्रेमीले तेक्वान्दोमाथि बढी अपेक्षा राखेको मान्छन्।
'हामीलाई स्वर्ण जित्ने स्तरमा राख्नु सकारात्मक पक्ष हो,' श्रेष्ठले भने, 'नेपाली जनताको आशालाई यसपटक निसारामा परिणत हुन दिँदैनौं। नेपालका लागि बढी पदक जित्छौं।'
मंसिर १५ गतेदेखि हुने सागमा तेक्वान्दोमा २९ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। २९ स्वर्ण मध्ये पुम्से (कला प्रदर्शन) मा १३ स्वर्ण र ग्योरुगी (फाइट)मा १६ स्वर्णमा प्रतिस्पर्धा हुनेछ। सागमा पुम्से विधामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।
अघिल्लो सागमा स्वर्ण जित्न नसकेको पीडा भुलाउन नेपालले कडा मिहिनेत गरेको प्रशिक्षक श्रेष्ठले बताए।
'खस्किएको जस्तो देखिएको तेक्वान्दोले यसपटकको सागमा साख फर्काउनेछ,' श्रेष्ठले भने।
सागका लागि विगत ३ महिनादेखि प्रशिक्षण गर्दा अन्तर्राष्ट्रिय एक्पोजर पाएकाले नेपालले राम्रो खेल्ने उनको दाबी छ।
२ महिना स्वदेशमा प्रशिक्षण गरेपछि नेपाल खेलाडीहरु एक महिनाको प्रशिक्षणका लागि चीन, इन्डोनेसिया र मलेसिया पुगेका थिए। पुम्से टिमले इन्डोनेसिया र मलेसियामा प्रशिक्षण गरेका थिए। ग्योरुगी टिम चीन भ्रमणमा गएको थियो।
पुम्से टिमले इन्डोनेसियामा भएको प्रतियोगितामा भाग लिएको थियो। त्यहाँ कास्य पदक हात पारेको प्रशिक्षक श्रेष्ठले बताए। त्यसपछि नेपाली टिमले इन्डोनेसिया राष्ट्रिय टिमसँग अभ्यास गरेको थियो।
'इन्डोनेसिया राष्ट्रिय टिम एसियाली खेलकुदको स्वर्ण विजेता भएकाले उनीहरुसँग नेपाली टिमले प्रशिक्षण गर्दा फाइदा पुगेको छ,' श्रेष्ठले भने।
इन्डोनेसियाबाट फर्किएपछि नेपाली टिमले मलेसियाको राष्ट्रिय टिमसँग अभ्यास गरेको थियो।
ग्योरुगी टिमले चिनको सियान स्पोर्ट्स युनिभर्सिटीमा अभ्यास गरेको थियो। त्यस दौरान ग्रान्डस्लाम र चाइना ओपनमा भाग लिएको नेपालले १ रजत र ४ कास्य जितेको थियो।
एक महिनाको वैदेशिक प्रशिक्षणले खेलाडीमा हौसला बढेको श्रेष्ठले बताए।
नेपालले यसपटको सागमा भारतलाई मुख्य प्रतिद्वन्दी मानेको थियो। तर भारतले तेक्वान्दोमा प्रतिस्पर्धा नगर्ने भएपछि नेपालले स्वर्ण संख्या बढाउने प्रशिक्षक श्रेष्ठले बताए।
'कम्तिमा पनि १० देखि १२ स्वर्ण जित्नेछौं,' श्रेष्ठले भने, 'भारत नआएपछि स्वर्ण संख्या बढ्नेछ।'
तेक्वान्दो प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी
पुम्से व्यक्तिगत (१८ देखि २३ वर्ष )
कृष्णबहादुर तामाङ पुरुष
सिना मादेन लिम्बु महिला
पुम्से व्यक्तिगत (२४ देखि २९ वर्ष )
कमल श्रेष्ठ पुरुष
पार्वती गुरुङ महिला
पुम्से व्यक्तिगत (३० वर्ष माथि )
रेजिन रिमाल पुरुष
आयशा शाक्य महिला
पुम्से जोडी (१८ देखि २३ वर्ष )
अस्मिन राउत पुरुष
सिना मादेन लिम्बु महिला
पुम्से जोडी (२४ देखि २९ वर्ष)
जितबाहदुर बोट पुरुष
पार्वती गुरुङ महिला
पुम्से जोडी (३० वर्षमाथि)
सन्जिवकुमार ओझा पुरुष
आयशा शाक्य महिला
पुम्से टिम महिला (१८ देखि २३ वर्ष)
सन्जिला तिमिल्सिना
निशा दर्नाल
स्वस्तिका तामाङ
पुम्से टिम पुरुष (१८ देखि २३ वर्ष)
अस्मिन राउत
शिशिर श्रेष्ठ
दीपेन्द्र गुरुङ
पुम्से टिम महिला (२४ देखि २९ वर्ष)
निता गुरुङ
प्रशंसा क्षेत्री
सुशीला राई
पुम्से टिम पुरुष (२४ देखि २९ वर्ष )
कमल श्रेष्ठ
जितबहादुर बोट
प्रेमकुमार लिम्बु
महिला फाइट
काजल श्रेष्ठ ४६ केजी
युनिसा राई ४९ केजी
अस्मिता खड्का ५३ केजी
निमा गुरुङ ५७ केजी
संगिता बास्याल ६२ केजी
अप्सरा कार्की ६७ केजी
मनिता शाही ७३ केजी
निशा रावल ७३ केजी माथि
पुरुष फाइट
मनोज मल्ल ५४ केजी
गोविन्द आले ५८ केजी
ज्ञानेन्द्र हमाल ६३ केजी
विरबहादुर महरा ६८ केजी
किरण आले ७४ केजी
निचलमान श्रेष्ठ ८० केजी
भुपेन श्रेष्ठ ८७ केजी
सक्षम कार्की ८७ केजी माथि