गत साताको भेटमा धावक बैकुण्ठ मानन्धरले ३२ वर्षअघिको एउटा चुम्बनको कथा सुनाए।
सन् १९८७। एसियाली महासंघ खेलकुद (साफ) भारतको कलकत्तामा हुँदै थियो। नेपाली एथ्लेटिक्स टिम प्रशिक्षणमा जुट्यो। पोखरामा बन्द प्रशिक्षण थियो। अघिल्ला दुई साफमा लगातार स्वर्ण जितेका म्याराथन धावक बैकुण्ठ प्रशिक्षणका आकर्षण थिए।
सधैं उनको अघिपछि कि खेलाडी हुन्थे, कि फ्यान।
जनतामाझ पनि प्रभाव जमाएका बैकुण्ठसँग प्रशिक्षक भने हच्किन्थे। उनीसँग हच्किने प्रशिक्षक पछितिर भने कुरा काट्थे। त्यो वर्ष साफ नजिकिँदै जाँदा एउटा हल्ला चलेको थियो- यसपालि बैकुण्ठले पदक जित्न सक्दैन।
त्यही हल्ला चिर्दै अचम्मकी महिला समर्थक निस्किइन्। उनले सार्वजनिक रूपमै घोषणा गरिन्, 'दाइ तपाईंले स्वर्ण जित्नुहुन्छ! त्यसपछि म मैदानमा आएर तपाईंलाई चुम्बन गर्छु!
३२ वर्षपहिलेको नेपाली समाज अहिलेजस्तो खुला थिएन। एउटी महिलाले यति खुलेर आफूले मनपराएको खेलाडीलाई चुम्बन गर्छु भन्नु निकै आँट मानिन्थ्यो।
यस्तो फ्यानका कुरा सुनेर बैकुण्ठ रोमाञ्चित नहुने कुरै भएन।
'तेस्रो साफअघि प्रशिक्षकहरूले जति हतोत्साहित गरे पनि खेलाडी र फ्यानले ठूलो हौसला दिएका थिए,' बैकुण्ठले मुस्कुराउँदै भने। त्यही बेला कलकत्ता जानुअघि मानन्धरलाई तत्कालीन राजा वीरेन्द्रले 'दर्शनभेट'का लागि बोलाएका थिए। वीरेन्द्रले उनको लक्ष्य सोधे।
सरकार आफ्नो रेकर्ड आफैं तोडेर स्वर्ण पदकमा ह्याट्रिक गर्छु,' बैकुण्ठले जवाफ दिए।
'क्या बात! स्वास्थ्यको ख्याल गरेर राम्रो प्रदर्शन गर्नू,' वीरेन्द्रले भने।
नोभेम्बरमा कलकत्ता पुग्दा उनीमाथि सबैको नजर थियो। त्यसअघि नै उनी तीनपटक ओलम्पिक र दुईपटक साफ खेलिसकेका खेलाडी थिए।
३५ वर्षे बैकुण्ठले तेस्रो साफमा राजा वीरेन्द्रलाई दिएको वचन पूरा गरे। म्याराथन जित्दै साफमा लगातार तीन स्वर्ण जित्ने पहिलो खेलाडी बनेर आफूलाई प्रमाणित गरे। उनले ४२ किलोमिटर म्याराथन २ घन्टा १५ मिनेट ३ सेकेन्डमा पूरा गरेका थिए।
यो रेकर्ड तोड्न अहिलेसम्म दक्षिण एसियाभर कुनै खेलाडी निस्किएका छैनन्।
'कलकत्तामा स्वर्ण जितेपछि तपाईंकी फ्यानले चुम्बन गर्ने वाचा पूरा गर्नुभयो त?' मैले उत्सुक हुँदै सोधेँ।
उनी मुसुक्क हाँसे र भने, 'भएन नि! खेलअघि मेरो हौसला बढाउन उहाँले त्यस्तो भन्नु भएको होला।'
काठमाडौंको कालीमाटीमा २००९ सालमा जन्मिएका बैकुण्ठको दौडमा टख बसेको विद्यार्थीकालदेखि नै हो। २०२४ सालमा १५ वर्षको उमेरमा उनले घरपरिवारलाई थाहा नदिई दौडमा भाग लिन्थे। २०२८ सालमा राष्ट्रिय प्रतियोगिता जितेपछि धावकका रूपमा चिनिन थाले। परिवारले पनि थाहा पायो।
नेपाली सेनाका धावकद्वय जीतबहादुर केसी र भक्तबहादुर सापकोटा त्यतिखेर निकै चर्चामा थिए। त्यस्तो बेला उनीहरूसँग प्रतिस्पर्धा गर्नु उनलाई सहज थिएन। (यो पनि पढ्नुस्ः नुन पानी खाएर ओलम्पिकमा दौडेका हामी तीन हजारका खेलाडी !)
२०३० सालमा फिलिपिन्सको मनिलामा भएको एसियन ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिप बैकुण्ठले भाग लिएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। त्यसमा जीतबाहदुर केसी र भक्तबहादुरसँगै दौडिएका थिए। त्यो दौडमा जीतबहादुरले खाली खुट्टा कुदेर कास्य पदक जितेको क्षण बैकुण्ठलाई अझै याद छ। (यो पनि पढ्नुस्ः दोलखाबाट नुन लिन हिँडेका थिए, म्यूनिख पुगे)
जीतबहादुरलाई पछ्याएका भक्तबहादुर चौथो र बैकुण्ठ पाँचौं भए। त्यसको २ वर्षसम्म पनि नेपालमा जीतबहादुरले नै राज गरे। सन् १९७६ मोन्टेरियल (क्यानडा) ओलम्पिक छनोटमा पर्न बैकुण्ठले कडा परिश्रम गरे। नतिजा, जीतबहादुरलाई हराएर सनसनी मच्चाए।
'छिटो छरितो ज्यानका जीतबहादुरलाई हराउनु फालमको चिउरा चपाउनु जस्तो थियो,' बैकुण्ठले भने, 'सिनियर खेलाडीलाई हराएर ओलम्पिकमा छनोट भएको त्यो पल मेरो जीवनकै खुसीको क्षण हो।'
ओलम्पिक छनोट भएपछि उनी तीन महिनाअघि नै अमेरिका, न्यूयोर्क उडेका थिए। उनका साथ न प्रशिक्षक थिए न कोही अधिकारी। न उनलाई राम्रो अंग्रेजी बोल्न आउँथ्यो। उनको जिन्दगीको निकै चुनौतिपूर्ण र अनौठो यात्रा थियो त्यो।
न्यूयोर्क एयरपोर्टमै प्रहरीले रोक्यो। ओलम्पिक खेलाडी भएको बताउँदा पत्याएन। ओलम्पिक कमिटीको सिफारिस पत्र नभई अमेरिका छिर्न नदिने भन्यो।
'टु हुम इट मे कन्सर्न– लेखेको पत्र चाहियो भन्छ,' बैकुण्ठले ४३ वर्षअघिको घटना सम्झिए, 'ह्वाट कन्सर्न? हु कन्सर्न? भनेर टुटेफुटेको अंग्रेजीमा जवाफ फर्काएँ।'
ओलम्पिक अभ्यासका लागि आएको भनेर पार्सपोर्ट देखाउँदै बैकुण्ठले प्रहरीलाई सम्झाउन अनेक प्रयास गरे। प्रहरीले कसैगरी बुझेन।
'एक घन्टासँग गलफत्ति गरेपछि झोला बोकेर नेपाल फर्की पो भन्छ,' बैकुण्ठले सुनाए, 'तर मैले डेग चालिनँ।'
पछि प्रहरीले संयुक्त राष्ट्रसंघमा काम गर्ने एक नेपालीलाई फोन गरेर बैकुण्ठसँग कुरा गराइदियो।
'सर म अलपत्र परेँ। तपाईंकोमा आउँछु,' बैकुण्ठले आग्रह गरे।
'म तिमीलाई केही गर्न सक्दिनँ,' उताबाट जवाफ आयो।
ती नेपालीले बैकुण्ठलाई सहयोग गर्न नसक्ने बताए पनि प्रहरीलाई ओलम्पिक खेलाडी हो भनिदिएछन्। प्रहरीले उनलाई छाडिदियो।
ट्याक्सीवालालाई 'लज' लगिदिन भन्दा उसले बुझेन। 'मोटल' लगिदिन्छु भन्दो रहेछ। होटल बुझेका उनलाई त्यति बेला मोटलबारे थाहै थिएन।अलमल परिएला भनेर उनी एयरपोर्टै फर्किए। त्यहाँ त सबै मान्छे उनलाई नै हेर्न थाले। एकछिनमा एयरपोर्टको टेलिभिजनमा आफ्नै तस्बिर देखे।
'मैले अगाडि प्रहरीसँग कुरा गरेका दृश्य टिभीमा देखाइरहेको थियो,' उनले सम्झिए, 'ओलम्पिक खेलाडी अलपत्र परेको समाचार आएको रहेछ।'
त्यही बेला प्रहरी उनीनजिक आएर भने, 'तिमीलाई एकजनाले प्रायोजन गर्छु भनेका छन्।'
'एउटा कुइरेले लामो, शानदार कारमा मलाई राख्यो, अग्लो घर पुगेपछि आफू त्यो घरको मालिक भन्यो,' उनले सम्झिए।
घरमा उनलाई सबैले 'सर' भनेर बोलाउन थाले। उनका लागि दुई जना सुसारे पनि खटिए जसले बैकुण्ठका लुगा धुन मागे। उनीसँग दुई जोर मात्र थिए, दिएनन्। उनीहरू छक्क परे रे।
धनाढ्य व्यक्तिकहाँ बैकुण्ठ बसेको थाहा पाएपछि बेलायतमा अध्ययनरत नेपालकी तत्कालीन शाहज्यादीको फोन आयो।
'तिमी चर्चित मान्छेकहाँ बसेका छौ। यताउता नगर्नू, देशको इज्जत राख्नू,' शाहज्यादीले फोनमा भनेकी थिइन्। ती धनाढ्य को थिए, बैकुण्ठलाई याद छैन। त्यति बेला उनीकहाँ एक साता बसे। प्रशिक्षणमार्न अप्ठ्यारो भएपछि उनी कर्नोल विश्वविद्यालय पुगे।
प्रशिक्षण गर्दा उनलाई हेर्ने विद्यार्थीको भिड नै लाग्यो। 'एउटा ओलम्पियनको प्रशिक्षण नजिकबाट हेर्नु पाउनु त्यहाँ ठूलो कुरा हुने रहेछ,' उनले भने।
सुरूमा त उनलाई अनौठो लाग्यो। पछि आफू सम्मानित खेलका लागि छनोट भएर आएको रहेछु भन्ने अनुभव गरेछन्।
'अमेरिकामा ओलम्पिक र ओलम्पियनको निकै ठूलो मान हुन्छ,' उनले भने।
प्रशिक्षण सकेपछि उनी ओलम्पिक खेल्न क्यानडाको मोन्टोरियल पुगे। बिबिसी लगायत अन्तर्राष्ट्रिय मिडियाले उनको कभरेज गरेका थिए। बैकुण्ठका अनुसार एसियाका गरिब मुलुक र अफ्रिका लगायत तेस्रो विश्वका खेलाडीलाई रियल खेलाडी भन्दै समाचार आएका थिए।
सन् १९७६ जुलाई ३१ मा उनी म्याराथन दौडन मोन्टोरियलको ओलम्पिक रंगशाला पुगे। तर उनको नाम आयोजकले बोलाएन। अरुको नाम स्क्रिनमा देखाइरहे पनि दौड सुरू हुन लाग्दासम्म उनको नाम आएन। बैकुण्ठ कुदेर ट्र्याकमा पुगे। उनको पछिपछि प्रहरी दौडिए। उनलाई पक्रिएर अधिकारीहरूलाई बुझाए।
'मेरो नाम दर्ता नभएको थाहा पाएपछि अधिकारीहरू छक्क परे,' बैकुण्ठले भने, 'ओलम्पिक भिलेजमा बसेपछि नाम दर्ता गराउनुपर्छ भन्ने मलाई लागेको थिएन।'
अधिकारीहरूसँग वादविवाद परेको देखेपछि रंगशालामा उपस्थित दर्शकले बैकुण्ठको पक्षमा हुटिङ गरे।
'मैले दौडन पाउनुपर्छ भनेर ठूलो हुटिङ आइरहेको थियो,' उनले भने, 'अन्तिममा आफैंले नाम लेखेर दर्ता गरेँ।'
दुई ट्राफिक प्रहरी बैकुण्ठलाई 'स्कर्टिङ'का लागि खटाइयो। ३० किलोमिटर दौड पूरा गरेपछि ट्राफिक प्रहरी खुब खुसी भएको बैकुण्ठलाई अझै सम्झना छ। २ घन्टा ३० मिनेट ०७ सेकेन्डमा दौड पूरा गर्दै उनले ५० औं स्थान हात पारे।
'यसले दौड पूरा गर्छ भनेर होला उनीहरूले मलाई हौस्याइरहेका थिए,' उनी भन्छन्।
ओलम्पिकमा सहभागी भएपछि बैकुण्ठले नेपाली एथ्लेटिक्समा एकछत्र राज गरे। १९८० मा मस्को ओलम्पिकमा भाग लिए। मस्कोमा राम्रो दौडिने अपेक्षा धेरैको थियो। बैकुण्ठले २ घन्टा २० मिनेटभन्दा कममा दौडिने आकलन थियो। तर म्याराथनको अघिल्लो दिन एउटा घटना भयो।
'सेभ द मिसन'ले बेलुका ९ बजे सबैलाई भेला गराउने भनेको थियो। त्यो दिन बैकुण्ठ लामो प्रशिक्षण गरेर आएका थिए। 'हट टब'बाट निस्किँदा उनी उभिन सक्ने थिएनन्। उनलाई नदेखेपछि 'सेभ द मिसन' खुबै रिसाए।
भेलामा नआएको भनेर बैकुण्ठलाई राति १० देखि १२ बजेसम्म उभ्याइयो। भोलिपल्ट उनको म्याराथन बिग्रियो। मस्कोको सेन्ट्रल लेनिन ओलम्पिक रंगशालामा उनले २ घन्टा २३ मिनेट ५१ सेकेन्डमा दौड पूरा गरेर २३ औं भए।
त्यसपछिको ओलम्पिक अमेरिकाको लस एन्जलसमा थियो। सन् १९८४ मा बैकुण्ठ लगातार तेस्रोपटक ओलम्पिकमा भाग लिँदै थिए। लस एन्जलसमा म्याराथनमा भाग लिन बैकुण्ठसहित अर्जुन पण्डित र अमिरी यादव पनि पुगेका थिए। तर आयोजकले एक कार्यक्रममा एक देशका दुई खेलाडीले मात्र भाग लिन पाउने भन्यो।
'हामीले पदक जित्दैनौं। त्यसैले दौडन पाउनुपर्छ भनेर अड्डी कस्यौं,' बैकुण्ठले सुनाए।
'तीनै जनाले ३ घन्टामा दौड पूरा गर्न नसके मैदान छिर्न दिँदैनौं,' आयोजकले शर्त राखे।
नभन्दै तीनै नेपाली धावकले ३ घन्टा भन्दा कम समयमै दौड पूरा गरे। बैकुण्ठले २ घन्टा २२ मिनेट ५२ सेकेन्डमा पूरा गरेर ४६ औं स्थान हात पारे। अर्जुन ६३औं र अमिरी ६९औं भए।
त्यति बेला अमेरिकी प्रशिक्षकले भनेको उनी अझै सम्झन्छन्, 'नेपालका सबै खेलाडीका लागि हुने खर्चभन्दा दस गुणा बढी अमेरिकाले आफ्नो एक खेलाडीलाई गर्छ। र पनि तिमीहरूले अमेरिकीभन्दा राम्रो दौडियौ।'
ओलम्पिक सकिएपछि नेपाली खेलाडीलाई छात्रवृत्ति दिएर अमेरिका नै बस्ने प्रस्ताव गरिएको थियो रे।
'देशको प्रतिनिधित्व गरेर गएपछि बस्नु हुन्न भनेर फर्कियौं,' उनले भने।
अमेरिका ओलम्पिककै वर्ष नेपालमा दक्षिण एसियाली महासंघ खेलकुद (साफ) को पहिलो संस्करण भयो। बैकुण्ठ सिनियर खेलाडी भएकाले आफैं प्रशिक्षण गरेर तयारीमा लागे। साफको पहिलो दिनै म्याराथन थियो। त्यही बेला उनी बिरामी परे।
औषधि खाएर दौडे पनि तीनपटक ओलम्पिक र दुईपटक एसियाली खेलकुदमा भाग लिइसकेका बैकुण्ठले सहजै स्वर्ण जिते। त्यो स्वर्ण नेपालले जितेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो।
जितपछि रंगशालामा राजा वीरेन्द्र उठेर ताली पिटे। पत्रकारहरूले त्यो फोटो कैद गरेका थिए। राजाले एक खेलाडीका लागि ताली पिट्ने कुरा असामान्य भएको भन्दै नेपाली अधिकारीहरूले फोटोग्राफरलाई गाली गर्दै रिल निकालेर फ्याँकिदिएका बैकुण्ठ सुनाउँछन्। पञ्चायतकालमा राजाले उठेर ताली पड्काउनु हुन्न भनिन्थ्यो। त्यही पनि पत्रकारलाई गरेको दुर्व्यहार उनलाई मनपरेन।
'आफ्ना जनताले जितेकोमा राजा पनि खुसी हुन्छन् नि,' उनले भने।
एक महिनापछि राजाले ताली बजाउँदै गरेको फोटो क्यालेन्डरमा छापिएको थियो। त्यो क्यालेन्डर पनि प्रतिबन्ध लगाइयो।
एक वर्षपछि, सन् १९८५ मा दोस्रो साफ बंगलादेशको ढाकामा भएको थियो। त्यसमा पनि बैकुण्ठबाहेक अरू खेलाडीले स्वर्ण जित्न सकेनन्। फर्केपछि उनलाई राजा वीरेन्द्रले बोलाएर भनेका थिए रे, 'तिमीलाई चाहिने सुविधा सबै लिनू।'
बैकुण्ठले केही पनि मागेनन् रे।
'म देशका लागि दौडिरहेँ मात्र,' उनले भने, 'त्यो बेला मेरो जागिर पनि थियो। दौडिएर देशभर पुग्दा मैले मान्छेका अनेक दुःख देखेको थिएँ। म सुविधामा हुर्केको छु जस्तो लागेर केही पनि मागिनँ।'
राजा वीरेन्द्रसँग जोडिएको अर्को किस्सा पनि उनलाई याद छ।
उनी भारतको कलकत्तामा हुने तेस्रो साफको तयारीमा जुट्दै थिए। सन् १९८७ मा भारत जानुअघि उनलाई वीरेन्द्रले दर्शनभेटमा बोलाए।
'पाँच विकासक्षेत्रमा राजाको भ्रमण थियो। त्यसका लागि म र सुन्दरी शेर्पालाई पनि सँगै लाने कुरा भएछ,' बैकुण्ठ सम्झन्छन्, 'राजा भनेपछि सबै डराउँथे। त्यसैले सुन्दरी आइनन्। म मात्रै गएँ।'
भ्रमणअघिको दर्शनभेटमा राजालाई चढाउन उनले डलब पैसा बोकेका थिए। तर त्यो पैसा पहिले नै भुइँमा खस्यो। पैसा झरेपछि उनले राजालाई नमस्कार गरे। सलाम गरे। राजा हाँसी मात्र रहे। एकछिनपछि बैकुण्ठलाई वीरेन्द्रले अँगालो मारे।
'तिमी त देशको हिरो हो,' वीरेन्द्रको भनाइ बैकुण्ठलाई अझै ताजा छ। उनलाई झुकाउन सिकाएको भन्दै वीरेन्द्रले आफ्ना भाइ धीरेन्द्र र तत्कालीन सेना प्रमुखलाई हप्काएको उनी बताउँछन्।
'देशको गहनालाई कसले घुँडा टेक्न सिकाएको?' वीरेन्द्रले धीरेन्द्र र सेना प्रमुखलाई भनेका थिए रे।
राजाबाट प्रेरणा र सम्मान पाएका बैकुण्ठले त्यही साल ३५ वर्षको उमेरमा साफमा लगातार तेस्रो स्वर्ण जितेर रेकर्ड बनाएका थिए। उनको त्यो रेकर्ड तोड्ने दक्षिण एसियामा कुनै खेलाडी निस्किएको छैन।
अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडन थालेका १५ वर्षमा बैकुण्ठले चौथोपटक ओलम्पिकमा भाग लिएर अर्को रेकर्ड बनाए। सन् १९८८ मा दक्षिण कोरियाको सोलमा भएको २४औं ओलम्पिकमा भाग लिँदा उनी ३६ वर्षका थिए।
अक्टोबर २ मा भएको म्याराथनमा नेपालका बैकुण्ठ, टीका बोगटी र कृष्णबहादुर बस्नेतसँगै विश्वभरका ११८ धावक प्रतिस्पर्धी थिए। बैकुण्ठले २ घन्टा २५ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेर ५४औं, टीका ६६औं र कृष्ण ८५ औं भए।
त्यो म्याराथनमा बैकुण्ठको ठूलो प्रतियोगितामा अन्तिम दौड थियो। त्यति बेलासम्म उनले लगातार चार ओलम्पिक, लगातार तीन एसियाली खेलकुद र लगातार तीन साफ खेलकुदमा भाग लिइसकेका थिए। नेपालका लागि पहिलो स्वर्ण जित्ने इतिहासदेखि साफ खेलकुदको म्याराथनका रेकर्डमा उनको नाम स्वर्ण अक्षरले लेखिइसकेको थियो।
अहिले ६६ वर्षका लागेका बैकुण्ठले दौडन थालेको ५० वर्ष भइसकेको छ। ठूला प्रतियोगितामा भाग लिन छाडेको ३१ वर्ष भइसक्दा पनि फूर्तिला र जोशिला बैकुण्ठको जीवनको रफ्तार घटेको छैन।