नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि प्राविधिक समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक गंगाबहादुर थापाले सागमा समावेश खेलका प्रतियोगिता स्थल तोक्नेदेखि प्राविधिकहरुको संख्यासम्म निर्धारण गर्ने काम सम्पन्न भएको जानकारी दिए।
यसैगरी महिला फुटबल पोखरा रंगशालामा नै आयोजना गर्ने गरि तयारी भइरहेको पनि बताए। साग आयोजनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि २ हजार ३५ जना अफिसिलको आवश्यकता पर्ने पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ।
जसमा अन्तर्राष्ट्रिय रेफ्री तथा जज र जुरी गरि ६ सय १३ जना नेपाल आउने छन् भने राष्ट्रियस्तरका रेफ्री तथा जज र जुरीको संख्या ७ सय ३२ जना रहेको छ। यस्तै प्रावधिक सहायकको रुपमा ६ सय ९० जनशक्ति परिचालन हुने छन् ।
सागमा ३१७ स्वर्ण र त्यतिकै संख्यामा रजत पदकका लागि प्रतिस्पर्धा हुने छ। यसैगरी कास्य पदकको संख्या भने ४८१ रहेको छ।
सागमा पौडीमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ।
तेक्वान्दोमा २९ भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ। करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुने छ। यसैगरी जुडोमा १५ ,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। साईक्लिङमा ८ तथा ब्याडमिन्टन, टेवल टेनिस र टेनिसमा ७–७ स्वर्ण पदकका लागि भिडन्त हुने छ।
ट्रायथलनमा ५ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा स्क्वास र गल्फमा ४ वटाका लागि भिडन्त हुने छ। यस्तै बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, कवड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।