नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरूले लुुम्बिनीबाट ओलम्पिक टर्च बालेर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन्।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीस्थित शान्ति दीपबाट टर्च बालेर ओलम्पिक टर्च र्यालीका संयोजक उमेश मास्केलाई हस्तान्तरण गरेका थिए।
नेपाल खोखो संघका महासचिव समेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूमिमा रहेको शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीमा उत्साह थपिने बताए।
मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले शान्तिदीपबाट दीयो (टर्च) लिएर शुक्रबार पोखरा पुग्नेछन्।
बिहीबार बिहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी खेलाडीहरू पोखरातर्फ गएका हुन्।
ओलम्पियक टर्च र्यालीका संयोजक मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दीगो पोखराका ओलम्पियनमाझ पुर्याएर ऊर्जा थप्ने बताए।
खेलाडीहरूलाई लुम्बिनी विकास कोषका सदस्यसचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलगायत लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागत सहित विदाई समेत गरेका थिए। नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन्।