एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङ अन्तरगतको सावर विधामा एपिएफका लागि स्वर्ण जितेका छन्।
उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन्।
एपिएफका खेम खत्री र सेनाका रघु वीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे।
इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे। ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन्।
ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन्। तेश्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहे।
फ्वलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भईन्।
उनले एपिएफकी मनिषा राईलाई १५–१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बनिन्। एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाए।
नवौं राष्ट्रिय प्रतियोगितामा फेन्सिङ्गमा ६ स्वर्णका छिनोफानो भएको छ भने समग्रमा ७ स्वर्ण पदकको छिनोफानो भएको छ। पुरुष क्रिकेटमा नेपाल पुलिसले पहिलो स्वर्ण जितेको थियो।