नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिमले कास्य पदक जितेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सूदूरपश्चिम र एनआरएनएबीचको खेल विहान सवा नौ बजेका लागि तय भएको थियो।
खेलमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर वर्षाका कारण खेल सुरु हुने सकेन। पछि खेल नै रद्द गरियो।
नवौं राष्ट्रिय खेलकुदमा पदक दिनु पर्ने अवस्थाका कारण म्याच रेफ्रीले ‘क्वाइन टस’ गरेर विजेताको टुंगो लगाउने निर्णय गरे। जसमा सुदूरपश्चिमले टस जित्दै कास्य पदक हात पार्न सफल भयो।
आगामी असोज २८ गतेदेखि गण्डकी प्रदेशमा औपचारिक रुपमा हुने नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट भने भदौं अन्तिम साता नै गरिएको हो।
नेपाल टी-२० लिगका कारण एक महिनाअघि गरिएको प्रतियोगिताका अधिकांस खेल वर्षाले प्रभावित भए। टी-२० लिगका लागि राष्ट्रिय प्रतियोगिता अघि सारिए पनि अहिले टी-२० लिग नै स्थगित गरिएको छ।
कास्य पदकका लागि समेत टसबाट पदक विजेताको टुंगो लगाइएपछि एनआरएनएका कप्तान सुनाम गौतमले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,'क्रिकेट र एनआरएनएका लागि एउटा दु:खद् दिन। हामीले तेस्रो स्थानका लागि भएको खेल गुमायौ। यो क्वाइन टसबाट निर्णय भएको थियो। यसमा हामी हार्यौ। दुर्भाग्यवस हामी चौथो भयौं।’
उनको असन्तुष्टिमा पूर्व कप्तान पारस खड्काले पनि प्रतिक्रिया दिएका छन्। हाल बागमती प्रदेशको क्रिकेट हेर्ने जिम्मा पाएका पारसले 'हामीले पनि कम्तिमा टस गर्न पाएको भए हुन्थ्यो' भनेका छन्।
समूह चरणमा बागमतीले त कुनै पनि खेल खेल्न पाएन। बागमतीका चार मध्ये तीन खेलमा त टस नै भएको थिएन।जसका कारण स्वर्ण जित्ने बागमतीको समूह चरणबाटै बाहिरियो।
प्रतियोगिता आजै त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच स्वर्णका लागि भिडन्त हुँदैछ।