नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार त्रिवि मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा एनआरएनएलाई १३ रनले पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो। त्यसअघि आर्मी र सुदूरपश्चिमबीचको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मीले फाइनलमा स्थान बनाएको थियो।
अब एनआरएनए र सुदूरपश्चिमबीच कास्यका लागि भिडन्त हुनेछ। दुवै खेल शुक्रबार त्रिवि मैदानमा हुनेछन्।
दोस्रो सेमिफाइनल खेल ८ ओभरमा झारिएको थियो। जसमा पहिले ब्याटिङ गर्दै पुलिसले ६ विकेटको क्षतिमा ११० रन जोडेको थियो।
पुलिसका लागि कुशल भुर्तेलले ५ बलमा १२ रन, कप्तान दीपेन्द्रसिंह ऐरीले १२ बलमा २५ रन, आरिफ शेखले १५ बलमा ३६ रन र करण केसीले ८ बलमा १८ रन जोडेका थिए। पुलिसका खेलाडीले कूल १० छक्का हिर्काएका थिए।
बलिङमा एनआरएनका दिवस गिरिले २ विकेट लिए।
१११ रनको लक्ष्य पछ्याएको एनआरएनले ८ ओभरमा ३ विकेटको क्षतिमा ९७ रन जोड्यो।
उसका लागि सागर पुनले २० बलमा ४ छक्काको मद्दतमा ३७ रन र कप्तान सुनाम गौतमले २५ बलमा २ चौका र ४ छक्काको मद्दतमा ४६ रन जोडेका थिए। बलिङमा पुलिसका योगेन्द्रसिंह कार्कीले २ विकेट लिए।