नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको प्रतिस्पर्धामा त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशमाथि ९ विकेटको जित निकालेको छ।
आज कीर्तिपुरमा समूह ‘ए’ को खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १९ ओभरमा ८५ रन मात्र जोड्न सक्यो।
उसका लागि कप्तान कृष्ण कार्कीले सर्वाधिक २८ रन जोडे। बलिङमा आर्मीका सुसन भारीले ५ विकेट लिए।
८६ रनको लक्ष्य आर्मीले १०.३ ओभरमा एक विकेट गुमाएर पार गर्यो। आर्मीका लागि अर्जुन साउदले नटआउट २८ रन, हरि चौहानले ३५ रन र भीम सार्कीले नटआउट १८ रन जोडे।
पराजित भएसँगै लुम्बिनी समूह चरणबाट बाहिरियो। यो समूहबाट मधेश प्रदेश पनि बाहिरिएको छ। अब ६-६ अंक जोडेका नेपाल पुलिस र आर्मी तथा ४-४ अंक जोडेका कर्णाली र गण्डकीमध्ये दुई टिम अन्तिम चारमा पुग्नेछन्।
यता समूह ‘बी’ बाट एनआरएनए र सूदुरपश्चिम अन्तिम चारमा पुगेका छन्। आज निर्धारित सुदूरपश्चिम र एपिएफबीचको खेल रद्द भएसँगै सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्यो। यो समूहबाट एउटै खेल पूरा नखेली एपिएफ बाहिरियो।
एपिएफका तीन खेल वर्षका कारण टस नै नहुँदा एनआरएनबीचको खेल वर्षाका कारण बीचमा रद्द भएको थियो। एआरएनएले ब्याटिङ गरिरहदा खेल अबरुद्ध भएको थियो।
यता एक बल पनि नखेलेको बागमती पनि यसअघि बाहिरिएको थियो। एक खेलमा पराजित प्रदेश एक पनि अघि बढ्न सकेन।
बिहीबारदेखि सुरू पुरूष क्रिकेटका प्रतिस्पर्धाका अधिकांश खेल वर्षाका कारण प्रभावित भएका छन्।
प्रतिस्पर्धामा सात प्रदेश, तीन विभाग र गैरआवासीय नेपाली गरी ११ टिमले भाग लिएका छन्।
मूलपानी मैदानमा तय भएका कुनै पनि खेल वर्षाका कारण भएका छैनन् भने कीर्तिपुर मैदानमा अहिलेसम्म तीन खेल मात्र २० ओभर खेल्न सम्भव भएको छ। दुवै मैदानमा गरी समूह चरणका १५ खेल रद्द भइसकेका छन्।