नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष राष्ट्रिय क्रिकेटमा आईतवार सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लब वपिजयी भएका छन्।
कीर्तिपुरस्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा सम्पन्न पहिलो खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई १३ रनले हराएको छ।
सुदूरपश्चिमले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ३१ रनमा समेटियो।
प्रदेश १ का दीपेश कँडेलले सर्वाधिक ३४ रन बनाउँदा फिर्दाेस अन्सारीले ३३, सोनु मण्डलले २६ र सन्दीप ढुंगानाले १३ रनको पारी खेले।
सुदूरपश्चिमका मिलन बोहराले दुई विकेट लिए। यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले समान एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरा २० ओभरमा सात विकेट गुमाएर १ सय ४४ रन बनायो। उसका लागि वसन्त खत्रीले सर्वाधिक ५३ रन बनाए। वसन्तले ४० बलमा दुई चौका र चार छक्का प्रहार गर्दै अर्धसतक बनाएका थिए।
यस्तै मिलन बोहराले ४४ र लोकेन्द्र चन्दले २४ रनको व्यक्तिगत पारी खेले। सुदूरपश्चिम पहिलो खेलमा एनआरएनएसँग १२ रनले पराजित भएको थियो।
वागमतीसँग भने सुदूरपश्चिमले अंक बाँडेको थियो। सुदूरपश्चिले अब भदौ २८ मा मुलपानीमा विभागीय टोली एपिएफसँग खेल्नेछ।
प्रदेश १ ले पहिलो खेल वागमतीसँग वर्षाको कारण अंक बाँडेको थियो। प्रदेश १ ले एपिएफसँग पनि वर्षाको कारण बाँडेको थियो। प्रदेश १ ले सोमवार एनआरएनसँग खेल्नेछ।
यस्तै कीर्तिपुर मैदानमा आईतबारनै भएको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लवले कर्णाली प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्यो।
८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले १०.४ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा गर्यो।
पुलिसका लागि ओपनर सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल ४० बलमा ५ चौका र १ छक्का सहित ३९ रनमा नटआउट रहे। पवन सरार्फ १ रन जोड्न पाए। कर्णालीका प्रकाश जैशीले विकेट लिए।
यसअघि हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८५ रन जोडेको थियो। कर्णालीका लागि ओपनर तथा कप्तान रविन्द्र शाही र अर्का ओपनर विपिन रावलले क्रमश २७ र १७ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान ३-३ विकेट निकाल्दा सागर ढकाल र मञ्जित श्रेष्ठले समान २-२ विकेट लिए।
पुलिसले सोमबार त्रिवि मैदानमा लुम्बिनी प्रदेशसँग खेल्नेछ। कर्णालीले मंगलवार मधेस प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा नै खेल्नेछ।
यसअघि पुलिसले वर्षाको कारण मधेस प्रदेशसँग वर्षाको कारण अंक बाँडेको थियो। कर्णालीले वर्षाको कारण लुम्बिनी र त्रिभूवन आर्मी क्लवसँग अंक बाँडेको थियो।
प्रतियोगिता अन्तर्गत आईतबार मुलपानीमा तय भएको एनआरएनए स्पोर्टस एकेडेमी र वागमती प्रदेश तथा गण्डकी र लुम्बिनी प्रदेशबीचका दुवै खेल रद्ध भएका छन्। मुलपानी क्रिकेट मैदान ओसिलो भएकाले खेल रद्द भएको हो।