एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोट अन्तर्गतको पाँचवटै खेलमा नेपाली टोली पराजय भई घर फर्किएको छ। त्यसैगरी, नेपालले छनोट चरणमा खेलेका चार खेलमा १२ गोल खाँदा, एक गोल पनि गर्न सकेन।
यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार ओमानसँग ५–० गोलको पराजय व्यहोर्याे। ओमानसँगको खेलमा पनि नेपाली खेलाडीहरू निकै कमजोर देखिएका थिए। ओमानसामू रक्षात्मक देखिएको नेपाली टोलीले पहिलो हाफमा तीन र दोस्रो हाफमा २ गोल खान पुग्यो।
अर्को, वर्ष इन्डोनेसियामा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपको छनोटका लागि किर्गिस्तान पुगेको नेपालले आफ्नो समूह चरणका सबै खेलमा पराजित भएसँगै युवा फुटबलप्रति निराशा बढेको छ। पाँच टोली सम्मिलिन छनोट चरणमा नेपाल समूह– ‘ए’मा थियो। पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० ले हारेको नेपालले दोस्रो खेलको नतिजा बहराइनलाई ४–० ले सुम्पियो। तेस्रो खेलमा यूएईसँग १–० र हिजो अन्तिम खेलमा ओमानसँग फराकिलो पराजय व्यहोर्यो।
एक महिनाअघि भुटानमा भएको साफ यू–१८ च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम उच्च मनोबलसहित किर्गिस्तान पुगेको थियो। तर, युवा टोलीले अन्य एशियाली मुलुकका टिमहरूसँग भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन। मुख्यगरी नेपालको रक्षापंक्ति र खेल रणनीतिमा विशेष कमजोरी देखिएको थियो। नेपालको प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ थिए।