पूर्वखोला गाउँपालिकाले यस आवमा ५०० जना युवालाई स्वरोजगार बनाउने भएको छ । आव २०७४-७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिंग, कृषि तथा पशुपालनसम्बन्धी काममा दक्ष बनाउन तालिम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
बेरोजगार युवालाई स्वरोजगार बनाउन गाउँपालिकाले युवा स्वरोजगारका लागि २१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताए ।
पूर्वखोला गाउँपालिकामा दक्ष सिकर्मी, डकर्मी, वाइरिंग गर्नेको अभाव रहेको छ । गाउँपालिकाभित्रका युवालाई तालिममार्फत स्वरोजगार बनाउने र दक्ष कामदार उत्पादन गर्ने गाउँपालिका अध्यक्ष नुरबहादुर थापाले बताए ।
बेरोजगार युवालाई आयमूलक तालिम सञ्चालनपछि आत्मनिर्भर हुनेछन् । स्वदेशमा नै केही काम गरी आत्मनिर्भर भएपछि विदेश पलायनमा कमी आउने योजनाका साथ गाउँपालिका अघि बढेको हो ।
आर्थिक वर्ष २०७४-७५ को प्रथम गाउँसभाले पारित गरेका वार्षिक बजेट नीति तथा कार्यक्रममा युवालाई स्वरोजगार बनाउने कार्यक्रम आएपछि गाउँपालिकाभित्रका युवा खुशी बनेका छन् ।
गाउँपालिकाले यस आवमा अन्तरिक राजस्व, राजस्व बाँडफाँटबाट प्राप्त रकम र अन्यबाट गरी ३७ लाख ३८ हजार १ सय रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको सूचना संयोजक निरबहादुर सारुले जानकारी दिए ।
केन्द्रीय निशर्त अनुदान १५ करोड ८० लाख ३८ हजार ३ सय ७२ रुपैयाँ, सामाजिक सुरक्षामा पाँच करोड रुपैयाँ, सशर्त १० करोड ३ लाख २४ हजार रुपैयाँको बजेट प्रमुख प्राथमिकतासाथ विनियोजन गरिएको अध्यक्ष थापाले जानकारी दिए ।
३० करोड ८३ लाख ६२ हजार रुपैयाँ गाउँपालिकाको कुल बजेटमध्ये शिक्षामा ६५ लाख ६० हजार रुपैयाँ, सडकमा तीन करोड तीन लाख ३८ हजार रुपैयाँ, स्वास्थ्यमा ४८ लाख ५१ हजार आठ रुपैयाँ, खेलकुदमा २३ लाख २० हजार रुपैयाँ, युवा व्यवरोजगार २१ लाख ५० हजार रुपैयाँ, पर्यटनमा आठ लाख ५० हजार रुपैयाँलाई बजेट विनियोजन गरेको अध्यक्ष थापाले बताए।
खानेपानीमा ६६ लाख ६५ हजार रुपैयाँ, सिँचाइमा २५ लाख २० हजार रुपैयाँ, कृषिमा ५८ लाख ६५ हजार रुपैयाँ, ऊर्जामा ५६ लाख ५० हजार रुपैयाँ, संस्कृति संरक्षणमा १० लाख ७० हजार रुपैयाँ र फोहरमैला व्यवस्थापनमा ४७ लाख ५० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।
पूँजीगत खर्चमा जग्गा खरीदमा ५० लाख रुपैयाँ, भवन निर्माणमा ५५ लाख रुपैयाँ, फर्निचरमा १८ लाख रुपैयाँ, सवारीसाधन ४८ लाख रुपैयाँ, मेसिनरी औजार १८ लाख रुपैयाँ, फोहरमैला व्यवस्थापन खरीद ३५ लाख रुपैयाँ, पूँजीगत मर्मत सम्भार ३५ लाख रुपैयाँ, समपूरक कोष ३० लाख रुपैयाँ, मर्मत सम्भार कोष पाँच लाख रुपैयाँ, आकस्मिक कोष आठ लाख रुपैयाँ, सार्वजनिक निर्माण आठ करोड २७ लाख ७८ हजार ८ सय ३० रुपैयाँ, पूँजीगत अनुसन्धान तथा परामर्श ३५ लाख रुपैयाँ, जगेडा कोष ३७ लाख ४५ हजार ८ सय ७४ रुपैयाँ रहेको छ । रासस
–––––––––