दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख ५७ हजार ८ सय ७१ रुपैयाँ सहयोग गरेको छ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।
उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे।
उनले कम्पनीले सुरू गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिए। सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली–१ (२१६ मेवा) परियोजना भूकम्पका कारण केही समस्या भए पनि द्रुतगतिमा अगाडि बढाएको जानकारी गराए ।
उनले विद्युत् खरीद सम्झौदा(पिपिए)लाई अघि बढाइदिन आग्रह समेत गरे। जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरीद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताए । रासस